काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनाका थप कार्यक्रम घोषणा गरेको छ । आज काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका घोषणा गरेको हो ।
विरोध कार्यक्रमअनुसार प्रचण्ड–माधव समूहले फागुन ६ गते काठमाडौंको टुँडिखेल वरिपरि मानव साङ्गो प्रदर्शन गर्ने घोषणा गरेको छ ।
चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले फागुन ६ गते अपराह्न ४–५ बजेसम्म प्रतिगमन, महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिने जानकारी दिनुभयो ।
आन्दोलनअन्तर्गत फागुन ५ देखि १२ गतेसम्म जिल्ला सदरमुकाममा जिल्ला कमिटीले विरोध गर्ने, फागुन ७ गते सबै पालिकाका वडा स्तरमा विरोध कार्यक्रम हुने, फागुन ७–१५ गतेसम्म सार्वजनिक स्थलमा वडा कमिटीले हस्ताक्षर संकलन गर्ने समूहले जनाइएको छ ।
त्यस्तै, फागुन ८ गते काठमाडौंमा बुद्धिजीवी र पेशागत संगठनको आयोजनामा बृहत् अन्तक्र्रिया गर्ने र आन्दोलनमा रहेका सबै दल तथा बौद्धिक समुदायको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या, बलात्कारविरुद्ध देशव्यापी सबै जिल्लामा महिलाको विरोध हुने सहसंयोजक भट्टराईले बताउनुभयो ।
फागुन १० गते काठमाडौं र हरेक जिल्लामा दलित मोर्चाको विरोध, फागुन ११ गते आदिवासी, मधेशी, दलित, जनजातिका सांस्कृतिक पहिचान सहितको विरोध, फागुन १२ चितवन र २१ गते दाङ ठूला विरोध प्रदर्शन हुने, फागुन १४ गते बहृत् युवा ¥याली, फागुन १५ गते किसान सुकुम्बासी मोर्चाको विरोध कार्यक्रम काठमाडौंमा हुने उहाँले जानकारी दिनुभयो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव समूह आन्दोलन गर्दै आएको छ । माघ २८ गतेसम्म तेस्रो चरणका आन्दोलन सम्पनन भएका थिए ।

