काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता हरिबोल गजुरेलले कम्युनिष्ट भएर प्रधानमन्त्री केपी शर्मा ओलीले पूजापाठ गर्दै हिड्न नसुहाउने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै गजुरेलले भन्नुभयो,“कम्युनिष्ट भएर प्रधानमन्त्रीले पूजा पाठ गर्दै हिड्ने हो ? त्यो त हाम्रो सिद्धान्त नै होइन ।”
फरक प्रसंगमा उहाँले ओलीले २०४६ साल पछिका कामलाई निरन्तरतामात्रै दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“प्रधानमन्त्री ओलीले कुनै विकास निर्माणका काम गरेको होईन अगाडीका कामहरुलाई निरन्तरता दिएको हो, यो प्रकृया उहाँको समयमा मात्रै होईन उहाँभन्दा अगाडीका प्रधानमन्त्रीले पनि गरेका थिए, प्रधानमन्त्रीले कति काम गरेको छु भनेर आत्मसमिक्षा गर्नुभयो भने सबै थाह हुन्छ ।”
प्रधानमन्त्रीले आफू अध्यक्ष भएको पार्टीले काम गर्न नदिएर प्रतिनिधिसभा विघटन गरेको भन्नु दुखद् भएको गजुरेलले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पार्टी, संसदीय दल कतै पनि सल्लाह नगर्ने एकलैटी हिसाबमा काम गर्दा पार्टीमा विवाद देखिएको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो,“पार्टीमा छलफल–बहस गर्नुपर्छ, त्यो केहि नगर्ने अनि उल्टै काम गर्न दिएनन् भन्न सुहाउँछ, प्रधानमन्त्री ओली नैतिक धरातलमा नै बस्नु भएको छैन । प्रधानमन्त्री भएको नाताले संविधानको रक्षा गर्नुपर्नेमा हुदैँ नभएको प्रावधान निकालेर संविधानको हत्या गर्नु पनि नैतिकता हो र ? प्रधानमन्त्रीले त आफूले गरेका बाचा पनि पुरा गर्नु भएन, आधा–आधा कार्यकाल बाड्ने भनेर प्रचण्डजी सँग कागज गर्नु भएको थियो, खोइत बाचा पुरा गर्नु भएको ?”
प्रधानमन्त्रीले दिउँसै रात पार्ने काम गरेको बताउँदै काम गर्न नसके तथा काम गर्न नदिए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने दाहाल–नेपाल समूहका नेता गजुरेलको भनाइ छ ।