Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भाजपाले नेपालमा सरकार बनाउने भनाइप्रति नेपालको आपत्ति, रावल भन्छन्, ‘बालुवाटारको कमजोरी’

भाजपाले नेपालमा सरकार बनाउने भनाइप्रति नेपालको आपत्ति, रावल भन्छन्, ‘बालुवाटारको कमजोरी’

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 1.3K
    SHARES

  • भाजपाले नेपालमा सरकार बनाउने भनाइप्रति नेपालको आपत्ति, रावल भन्छन्, ‘बालुवाटारको कमजोरी’

    काठमाडौँ – नेपाल सरकारले छिमेकी मुलुक भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले दिएको नेपालसम्बन्धी आपत्तिजनक अभिव्यक्तिलाई लिएर भारत सरकारको ध्यानाकर्षण गराएको छ ।

    भारतीय जनता पार्टी (भाजपा) का तत्कालीन अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार बनाउने योजना रहेको बताएको भन्ने देवको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको छ।

    भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्कका सहसचिव अरन्दिम बाग्छीलाई फोन गरेर यस सम्बन्धी ध्यानाकर्षण गराउँदै आपत्ति प्रकट गर्नुभएको दूतावास श्रोतले बताएको छ ।

    परराष्ट्रमन्त्री ज्ञवालीले पनि यसबारे भारत सरकार समक्ष औपचारिक आपत्ति प्रकट गरिसकको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

    मुख्यमन्त्री देवले गत शनिबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टी (भाजपा) को सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

    देवले शनिबार राजधानी अगरतालाको एउटा पार्टी बैठकमा भाजपा अध्यक्ष रहेका बेला शाहले त्यस्तो योजना सुनाएको बताउनुभएको थियो । देवको उक्त अभिव्यक्तिको नेपालमा विरोध भइरहेको छ ।

    भारतको विपक्षी पार्टी भारतीय राष्ट्रिय कांग्रेसले पनि देवको भनाइप्रति आपत्ति जनाएको छ । कांग्रेसले यस किसिमका अभिव्यक्तिले नै भारतको छिमेकीहरुसँगको सम्बन्ध नराम्रो बन्न पुगेको समेत जनाएको छ ।

    देवको अभिव्यक्तिलाई लिएर भारतका अन्य वाम पार्टीहरुले समेत आलोचना गरेका छन् । तर भाजपाले भने हालसम्म देवको अभिव्यक्तिका सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।

    यता पूर्वगृहमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्रीकै कारण छिमेकी मुलुकबाट यो तहको हेपाहा प्रवृत्ति मौलाएको आरोप लगाउनुभएको छ ।

    उहाँले नेपालमा भाजपा सरकार बनाउने योजना रहेको सम्बन्धी भारतका गृहमन्त्री अमित शाहको अभिव्यक्तिको निन्दा समेत गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको मध्यरातमा भारतीय गुप्तचर प्रमुखसँगको गोप्य भेट नै यसको कारक तत्व रहेको पनि दाबी गर्नुभयो ।

    नेता रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीको आफ्नो भूमि नक्सामा समेट्न एकजुट भएको प्रतिनिधिसभा भंग गर्नुलाई पनि यस घटनासँग जोड्नुभएको छ ।

    राष्ट्रियताका लागि सिंगो संसद एक भएका बेला त्यसलाई नै विघटन गरिदिने प्रधानमन्त्रीको कदमले छिमेकीको हेपाहा नीतिलाई मौलाउन सहयोग गरेको रावलको आरोप छ ।

    इस्ट मोजोमा प्रकाशित खबरलाई उद्धृत गर्दै द वायरले विप्लव देवसँग अमित शाहले शनिबार भएको भेटमा नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार स्थापित गर्ने योजना रहेको बताएको उल्लेख गरेको छ ।

    शनिबार त्रिपूरा भ्रमणमा गएका भारतका गृहमन्त्री शाहले रविन्द्र शतवार्षिकी भवनमा भएको पार्टी बैठकमा भारतका सबै राज्यमा जित हासिल गरेपछि छिमेकी देशमा पनि पार्टी स्थापना गरेर सरकार बनाउने योजना रहेको बताएको खबरपछि नेपालमा राजनीतिक तरंग पैदा भएको छ ।


    मंगलवार, फाल्गुण ४ २०७७०८:१५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij