काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जानुभएको आज एक प्रेस नोट जारी गर्दै उहाँकोे सचिवालयले जनाएको छ ।

डा. भट्टराई नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।
डा. भट्टराई पेटसम्बन्धी समस्याबाट पीडित भएको र त्यसैको उपचारका लागि नयाँ दिल्ली गएको सचिवालयले जनाएको छ । उहाँको लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार हुँदै आएको थियो ।
तर, अहिले डा. भट्टराईमा चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेकाले उहाँ उपचारका लागि दिल्ली जानुभएको सचिवालयले जनाएको छ ।
नयाँ दिल्लीमा आफूले ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार गर्न लागेका डा. भट्टराईले जनाउनुभएको छ ।
‘नेपालका बरिष्ठ चिकित्सकहरूको सल्लाह बमोजिम म फागुन ९ गते आफ्नो स्वास्थ्य उपचारका लागि भारतको दिल्लीतर्फ प्रस्थान गर्दैछु। त्यहाँको ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा मेरो उपचार हुनेछ’, सचिवालयले जारी गरेको प्रेस नोट ट्विटरमा पोस्ट गर्दैै उहाँले लेख्नुभएको छ, ‘स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

डा. भट्टराई भारतनिकट हो भन्ने नेपालमा धेरैको बुझाइ छ । यसर्थ, देशमा तरल स्थिति आइरहेका वेला उहाँ उपचारका लागि दिल्ली जानुलाई धेरैले आशंकाको रुपमा समेत हेरिहेका छन् ।
आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको लोकतन्त्रलाई समर्थन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरिहेका वेला डा. भट्टराई दिल्ली जान लाग्नुभएको हो । यसपछि झनै धैरैमा आशंका पैदा भइरहेको छ ।
पछिल्लो समयमा प्रचण्ड र डा. भट्टराईको सम्बन्ध केही सुधारिएको अवस्था छ । डा. भट्टराईले आफ्नो नयाँ पुस्तकको विमोचनमा समेत प्रचण्डलाई प्रमुख अतिथि बनाउनुभएको थियो । यही भएर प्रचण्डकै सल्लाहबमोजिम उपचारको बहानामा डा. भट्टराई दिल्ली जानुभएको हुनसक्ने आँकलन कतिपय वुद्धिजीवीहरुले गरिहेका छन् । यसअघि, प्रचण्ड–माधव समूहकै वरिष्ठ नेता झलनाथ खनाल पनि उपचारका लागि दिल्ली नै जानुभएको थियो ।

त्यतिमात्र होइन करिब तीन महिनाअघि प्रचण्ड पनि श्रीमती सीताको उपचारका लागि भन्दै भारत जानुभएको थियो । उहाँले भाजपाका पूर्वउपाध्यक्ष तथा महाराष्ट्र प्रदेशका राज्यपाल भगतसिंह कोशियारीसँग भेट गर्ने कोसिस गर्नुभएको थियो । तर, कोशियारीले नमानेपछि उहाँहरुबीच फोनमा कुराकानी भएको थियो
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसलाई असंवैधानिक कमद भन्दै प्रचण्ड, डा. भट्टराईआबद्ध पार्टी र समूहहरु आन्दोलतरत छन् ।
तर, निकटछिमेकी र लोकतान्त्रिक भनिएको भारतको संस्थापन पक्ष ओलीको कदमप्रति मौन छ । भारतको मौनताप्रति प्रचण्डले एउटा टिभीमा अन्तरवार्ता दिँदै यसअघि नै आपत्ति जनाउनुभएको थियो ।
यसर्थ, भारतको धारणा बुझ्न आन्दोलनरत पक्षको प्रतिनिधि भएर डा. भट्टराई उपचारका बहानामा दिल्ली गएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । कतिपयले शंकाको दृष्टिकोणले समेत हेरेका छन् ।
‘पहिलो प्रचण्ड, दोस्रो झलनाथ अहिले बाबुराम र अन्तिममा माधव नेपाल बिरामी पर्ने योग देखिन्छ’, अर्जुन आचार्यले ट्विटरमा लेख्नुभएको छ, ‘उनीहरुका बिगतका क्रियाकलाप हेर्दा दिल्लीमै उपचार गराउन जानु केवल बहानाबाजी हो बुझ्न सहज छ ।’
