काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आइतबार भारतको राजधानी नयाँ दिल्ली गएका छन् । पेटसम्बन्धी समस्याबाट पीडित भएको र त्यसैको उपचारका लागि आफू दिल्ली जानुपरेको उनले बताइरहेका छन् ।
आफ्नो उपचार स्वदेशमा सम्भव नभएको र उपचारका लागि दिल्ली जानुपरेकामा आफू अत्यन्त लज्जित र दुःखित भएकोसमेत भट्टराईले सामाजिक सञ्जालमार्फत बताइरहेका छन् ।

‘२१ औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु, सामान्य नागरिकको के होला ?’, उनको प्रतिप्रश्न छ ।
भट्टराईले यस्तो बताइरहँदा यता देशकमा भित्र उनको दिल्ली भ्रमणलाई शंकाको दृष्टिले हेरिएको छ ।

उपचारका लागि ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा गएको बताएका भट्टराईले दिल्लीस्थित नेपाली राजदूतावासमा रहेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरिहेका छन् । यसले शंका गर्नेलाई थप बद पुर्याएको छ । भट्टराई उपचारको बहानामा नभएर राजनीतिक भेटघाटका लागि दिल्ली गएको सर्वसाधारणले प्रतिक्रिया दिइरहेका छन् ।
भट्टराईले दिल्लीस्थित राजदूतावासमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँगको दुईवटा तस्बिर शेयर गरेका छन् । एउटा तस्बिरमा उनी राजदूत आचार्यलगायतसँगको छलफलमा देखिन्छन् ।

ती तस्बिरमा भट्टराईकी पत्नीसमेत रहेकी हिसिला यमी पनि छिन् । ती तस्बिरहरुमा सर्वसाधारणले विभिन्न प्रतिक्रिया दिएका छन् ।
उपचार गर्न भनेर गएका राजदूतावासमा देखिएका भट्टराईप्रति व्यङ्य गर्दै कसैले उपचार राम्रो हुँदै रहेछ भनेर गिज्याएकासमेत छन् । यसरी गिज्याउनेमा दीपक आचार्य पनि छन् । विनय खतिवडाले लेखेका छन्, ‘अहिले दूवातासमा पो उपचार हुन्छ ?’

दोलु आले मगरले भने नेता भट्राईको समर्थन गर्दै कमेन्ट गरेका छन् । ‘फाइब स्टार हाटलमा नबसेर कहाँ दुतावासमा बस्नुभएको हो ?’, उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै लेखेका छन्, ‘यता महाकाली बेचुवाका छोराछोरीहरुको रुवाबासी छ ।’
नेता भट्टराई भारतनिकट हो भन्ने नेपालमा धेरैको बुझाइ छ ।
आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको लोकतन्त्रलाई समर्थन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरिहेका वेला डा. भट्टराई दिल्ली गएका छन् । यसैले गर्दा सर्वसाधारण जनतामा समेत शंका पैदा भएको आँकलन गर्न सकिन्छ ।
पछिल्लो समयमा प्रचण्ड र डा. भट्टराईको सम्बन्ध केही सुधारिएको अवस्था छ । डा. भट्टराईले आफ्नो नयाँ पुस्तकको विमोचनमा समेत प्रचण्डलाई प्रमुख अतिथि बनाएका थिए । यही भएर प्रचण्डकै सल्लाहबमोजिम उपचारको बहानामा डा. भट्टराई दिल्ली गएको हुनसक्ने आँकलन कतिपय वुद्धिजीवीहरुले गरिहेका छन् । यसअघि, प्रचण्ड–माधव समूहकै वरिष्ठ नेता झलनाथ खनाल पनि उपचारका लागि दिल्ली नै गएका थिए । त्यहाँ उनले कसैलाई भेटेको भन्ने समाचार बाहिर आएको भने छैन ।
त्यतिमात्र होइन करिब तीन महिनाअघि प्रचण्ड पनि श्रीमती सीताको उपचारका लागि भन्दै भारत गएका थिए । उनले भाजपाका पूर्वउपाध्यक्ष तथा महाराष्ट्र प्रदेशका राज्यपाल भगतसिंह कोशियारीसँग भेट गर्ने कोसिस गरेका थिए । तर, कोशियारीले नमानेपछि उनीहरुबीच फोनमा कुराकानी भएको थियो ।
देशमा राजनीतिक तरलता आइरहेका वेला पछिल्लो समय एकपछि अर्को नेता भारत गएकोप्रति सर्वसाधारणले व्यङ्ग्यसमेत गरेका छन् । योक्रम अझै बढ्नसक्ने उनीहरुको आँकलन छ ।
‘अबका केही दिनमा माधवकुमार नेपाल, शेरबहादुर देउवा, ठाकुर महन्थ आदिलाई बिसन्चो भएर उपचारका लागि दिल्ली जानुपर्ने अवस्था आएमा अचम्म मान्नुपर्दैन’, जीवन कोइराला फेसबुकमा लेख्छन् ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसलाई असंवैधानिक कदम भन्दै प्रचण्ड, डा. भट्टराईआबद्ध पार्टी र समूहहरु आन्दोलतरत छन् ।
तर, निकटछिमेकी र लोकतान्त्रिक भनिएको भारतको संस्थापन पक्ष ओलीको कदमप्रति मौन छ । भारतको मौनताप्रति प्रचण्डले एउटा टिभीमा अन्तरवार्ता दिँदै यसअघि नै आपत्ति जनाएका छन् ।
यसर्थ, भारतको धारणा बुझ्न आन्दोलनरत पक्षको प्रतिनिधि भएर डा. भट्टराई उपचारका बहानामा दिल्ली गएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । यसलाई कतिपयले शंकाको दृष्टिकोणले समेत हरेका छन् ।