काठमाडौं । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपूर्व आफुले उहाँलाई विघटन कानुनी र संवैधानिक प्रक्रियाबमोजिम नरहेको सुझाव दिएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै पूर्व सभामुख नेम्वाङले भन्नुभयो,“प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कुरा सुनेपछि विघटन काुननी र राजनीतिक रुपमा ठिक हुदैँन प्रधानमन्त्रीज्यु भनेर सुझाव दिएको थिए, उहाँले विघटन गर्नुपर्ने धेरै कारणहरु पेश गर्नुभएपछि सर्वोच्चको हातमा फैसला छाडेका हौँ ।”
संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले अब अदालतको फैसलापछि त्यसलाई सबैले स्वीकार्नु पर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संविधानको धज्जी उडाएको भन्नुलाई पूर्व सभामुख नेम्वाङले गलत भन्नुभएको छ ।
उहाँले प्रधानमन्त्रीले ईमान्दारीपूर्वक जनतामा जाने निर्णय लिनुभएकाले संविधानको पालना नगरेको भन्न नमिल्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीलाई नियत, ईमान्दारीता र संसदीयरुपमा प्रश्न खडा गर्ने कुनै ठाउँ नभएको पनि पूर्व सभामुख नेम्वाङको दावी छ ।