Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रचण्ड–माधवलाई व्यङ्ग्यको वर्षा

प्रधानमन्त्रीबाट छिट्टै बिदा हुने ओलीको संकेत

प्रधानमन्त्रीबाट छिट्टै बिदा हुने ओलीको संकेत

  • आइतवार, फाल्गुण १६ २०७७

  • 2.1K
    SHARES

  • प्रधानमन्त्रीबाट  छिट्टै बिदा हुने ओलीको संकेत

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीबाट छिट्टै बिदा हुने संकेत दिनुभएको छ।

    आज गृहजिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रमा पुगेर प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावमार्फत आफूलाई हटाइन थालिएको संकेत दिनुभयो।

    कार्यक्रममा ओलीले विगतमा पनि आफूलाई अविश्वासको प्रस्तावमार्फत हटाइएको र जनताको माँझबाट उदाएर आएको स्मरण गर्दै अहिले पनि हटाए अर्काे निर्वाचनमार्फत दुई तिहाई ल्याएर आउने दाबी गर्नुभयो ।

    प्रचण्ड र माधव नेपालले आफ्नो राजीनामा मागिरहेको बताउँदै ओलीले मुद्दा जितेर संसद पुनर्स्थापना गरेर आएपछि अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन पनि चुनौती दिनुभयो ।

    कार्यक्रममा ओलीले नेकपाको अर्काे समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि गरेको प्रस्तावबारे व्यङ्ग्य गर्नुभयो ।

    उहाँले विभिन्नथरि रंगीविरंगी, नन्दीभृंगी जम्मा भएर सरकार बनाउन भनि गरेको प्रस्ताव देउवाले अस्वीकार गरेपछि दुवैजना अध्यारो मुख लाएर फर्केको टिप्पणी गर्नुभयो ।

    प्रधानमन्त्री ओली यतिमै रोकिनुभएन । उहाँले प्रचण्ड–माधवले जनता समाजवादी पार्टीका नेताहरुसँग गरेको भेटबारे पनि व्यङ्ग्य कस्नुभयो । जसपाका नेताहरुले तपाईँहरु कुन पार्टीबाट आउनुभएको ? नाम के हो ? भनेर सोधेपछि दुवैजना झसंग भएको ओलीले बताउनुभयो ।

    यस्तै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाल भारत परस्त भएको कुरा उनीहरुले नै सावित गरेको बताउनुभयो । संसद पुनर्स्थापनापछि एउटाले हिन्दीमा बयान दिएको र अर्काले भारतका लागि कम्फरटेबल सरकार बनाउने भनेको भन्दै ओलीले त्यसमा पनि व्यङ्ग्य प्रहार गर्न छुटाउनुभएन । एउटा मिस्टर हेल्लो र अर्को मिस्टर कम्फर्टेबल यी दुई मिस्टरहरूले नेपाललाई बर्बाद पार्न चाहेका ओलीले बताउनुभयो ।

    संसद विघटन अदालतले बदर गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने ओलीलाई अब गलहत्याएर निकाल्नुको विकल्प नरहेको प्रचण्ड–माधव समूहका नेताहरु बताइरहेका छन् । तर ओली समूहले भने अविश्वासको प्रस्ताव सामनाका लागि तयार रहेको बताएको छ ।

    नेता भीम रावलले ह्वीप नमान्ने समानुपातिक सांसदलाई पदबाट हटाउने धम्की ओली समूहले दिए पनि त्यसो गर्ने तागत कसैमा नरहेको बताउनुभयो । आफूहरुसँग बहुमत रहेकोले प्रक्रिया अनुसार उल्टै ओलीलाई कारबाही गरिने उहाँले बताउनुभयो ।

    संसदमा अविश्वास प्रस्ताव ल्याएर आफूलाई हटाए तीन करोड जनताको माँझबाट दुई तिहाई लिएर आउने ओलीको अभिव्यक्तिले अब उहाँ प्रधानमन्त्रीबाट छिट्टै बिदा हुने परिस्थितिका लागि तयार भइसकेको रुपमा बुझ्न सकिन्छ । तर ओलीलाई हटाउन प्रचण्ड–नेपाल समूहलाई सजिलो भने नरहेको राजनीतिक पण्डितहरु बताइरहेका छन् ।


    आइतवार, फाल्गुण १६ २०७७०७:४७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij