काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहका नेतृ कोमल वलीले आफुप्रति नेकपा नेता रघुजी पन्तले दिएको आपत्तिजनक अभिव्यक्तिविरुद्ध कानुनी प्रक्रियामा जाने बताउनुभएको छ ।
उहाँको अभिव्यक्तिविरुद्ध कानुनी प्रक्रियामा जानेबारे अधिवक्ताहरुसँग छलफल गरिरहेको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ वलीले भन्नुभयोे,“पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर थाहा भयो, नारी अस्मितामाथि प्रश्न खडा गरेर फोहोरी राजनीति खेल्न खोज्नुभएको होला तर नारी कमजोर छैनन्, त्यसैले केहि सीप लागेन भने नारीको इज्जतमाथि प्रश्नवाचक चिह्न लगाउनु नैतिकताविरुद्ध हो ।”
नेतृ वलीले पन्तलाई प्रश्न गर्दै भन्नुभयो,‘पार्टीमा कुनै पनि पदमा पुग्न महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नु भएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न तपाईले भनेजस्तै गनुपर्छ हो ?’
उहाँले पन्तले प्रयोग गरेका शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको पनि बताउनुभएको छ ।
रघुजी पन्तले मागिसके माफी
दाहाल–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पन्तले राष्ट्रियसभा सदस्य कोमल वलीविरुद्ध दिएको अभिव्यक्तिबारे माफी मागिसक्नु भएको छ ।
शनिबार एक कार्यक्रममा नेता पन्तले केपी ओलीले वलीलाई सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै सांसद बनेको बताउनु भएको थियो ।
उहाँले आफूले बोलेको पुरै भिडियो नराखिएको र प्रशंग मोडेर समाचार प्रकाशित भएकोमा आपत्ति जनाउनुभएको थियो ।
नेता पन्तले प्रधानमन्त्री ओलीले पार्टीमा योगदान नगरेका महिलाहरुलाई सांसद नबनाएर आफूलाई मन पर्ने महिलालाई सांसद र केन्द्रीय सदस्य बनाउँदै हिँडेको विषयमा आफूले प्रतिक्रिया दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो मनशाय न महिला, न पुरुष कसैलाई अपमानित गर्ने छैन । मलाई दुःख लागेको छ । मेरो भनाइले कोमल वलीलाई चोट पुगेको छ भने त्यसप्रति म दुःख व्यक्त गर्छु ।’
के भनेका थिए रघुजी पन्तले ?
नेता पन्तले केही दिनअगाडि भएको एक कार्यक्रममा वलीले पिडुँला देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद बनाएको आरोप लगाएपछि उहाँ विवादमा तानिनु भएको छ । नेता पन्तले लैङ्गिक हिँसाजन्य अभिव्यक्ति दिएको भन्दै चर्को आलोचना हुन थालेको छ ।
उहाँले भन्नुभएको छ, ‘अहिले महिलाहरू पनि केपीतिर पनि लागेका छन् । २० औँ वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरू पनि छन् । तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन् । केपी ओलीले केरे कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै पोइल जान पाँउ भनेपछि सांसद त तिनैले पाइन् । कपाल फूलेर चाउरी परेका बुढी कामरेडहरू न राष्ट्रियसभाको सदस्य हुन पाएका छन् केन्द्रीय कमिटी सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन् ।’
उता, नेतृ वलीले आफू न्यायका लागि अदालत जाने बताउनुभएको छ ।
उहाँले आफू काम विशेषले अहिले गृह जिल्ला दाङमा रहेकाले काठमाडौं पुगेर कानूनी उपचारमा जाने बताउनुभएको हो ।