काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड)ले विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु रातारातको चमत्कार नभएको दावी गर्नुभएको छ ।
उहाँले दुई वर्षअघि देखिको निरन्तरको विचार विमर्शपश्चात विप्लव देशको शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको जानकारी दिनुभयो । प्रवक्ता बिश्वकर्माले राष्ट्र र जनहितलाई मध्यनजर गरेर सहमति र सहकार्य गरिएको स्पष्ट पार्नुभएको छ ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता बिश्वकर्माले भन्नुभयोे,“हिंसाको राजनीति भनेर हामीमाथि सधैँ आरोप लाग्यो तर त्यो गलत सावित भयो, जनताको पक्षबाट जनताको प्रतिनिधित्व गर्ने पार्टी कहिल्यै पनि हिंसात्मक राजनीति नगर्ने म जानकारी गराउँछु ।”
राजनीतिमा रहेका नेताहरु जनताका लागि भन्दा केबल कुर्सीका लागि लड्दा देश संकटमा फस्दै गएको उहाँको भनाइ छ । जनताकाबीचमा रहेर देश विकासमा सहकार्य गर्न विप्लवले सरकारसँग सहकार्य गरेको प्रवक्ता बिश्वकर्माले स्पष्ट पार्नुभयो ।