धनगढी । धनगढीस्थित प्रदेश कार्यालयमा पार्टीको बोर्ड राख्ने र हटाउने विषयमा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ । धनगढीको चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यालयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप भएपछि अहिले तनावपूर्ण स्थिति छ ।
बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज भएको नेमप्लेटसहित नयाँ बोर्ड राखेका थिए । त्यसको केही बेरमा ओली पक्षका कर्ण थापाको नेतृत्वमा गएको जुलुसले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो र रावल प्रदेश इन्चार्ज भन्ने नेमप्लेट पनि हटाएको थियो ।
त्यसको लगत्तै रावल पक्षका कार्यकर्ता फेरि आएर ओली पक्षले राखेको बोर्ड र नेमप्लेट हटाएका थिए सो क्रममा दुवै पक्षबीच भनाभन र झडपसमेत भएको थियो । प्रहरी हस्तक्षेप गरेपछि अहिले मुडभेड रोकिएको छ । प्रदेश कार्यालय नै प्रहरीको कब्जामा छ ।