काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता वेदुराम भुसालले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विसर्जनतिर लगेको बताउनुभएको छ ।
ओलीले कम्युनिष्ट आन्दोलन समाप्त गर्न खोजेको आरोप लगाउदैँ उहाँले ओलीका निर्णयले पार्टी एकजुट नभएर विसर्जन हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भुसालले भन्नुभयोे,“ओलीले पार्टीमा केन्द्रीय सदस्यहरु थप गर्नुभयो त्यति मात्रै होर अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी खारेज गर्नुभयो, जुन अवैधानिक छन्, जिम्मेवारी हेरफेर गर्ने कर्तव्य ओलीको होइन, गुट बसेर गरेको निर्णय मान्य छैन् ।”
ओलीले पदको दुरुपयोग गर्दै एकलौटी निर्णय गरेकाले त्यसलाई अराजकताबाहेक केहि भन्न नसकिने भन्दै उहाँले टिप्पणी गर्नुभयो ।
एमाले पार्टीलाई ओलीले नभइ एमालेले ओलीलाई बनाएको दावी गर्दै नेता भुसालले ओलीलाई पनि चाहेमा पदबाट हटाउन सकिने स्पष्ट पार्नुभएको छ ।
कम्युनिष्ट आन्दोलन जोगाउन ओलीका गलत निर्णयको प्रतिकार गर्ने उहाँले जानकारी दिनुभयो ।