काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले माओवादी केन्द्रले मन्त्रीहरुलाई फिर्ता बोलाउनुलाई हास्यास्पद भन्नुभएको छ ।
उहाँले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा स्थिरता ल्याउनका लागि साथ दिएको दावी गर्दै माओवादी केन्द्रसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री थापाले भन्नुभयोे,“प्रधानमन्त्री ज्युलाई हामीले मन्त्री र सांसदकोरुपमा साथ दिएको नभएर उहाँको देशप्रतिको लगावका कारणसाथ दिएका हौँ ।”
खानेपानी मन्त्री थापाले एकजुट भएको पार्टीलाई फुटाउन पहल गर्ने पुष्पकमल दाहाल प्रचण्डलाई साथ र सहयोग गर्न नसकिने उल्लेख गर्नुभएको छ ।
उहाँले सधैँ अस्थिरताको नेतृत्व गर्ने प्रचण्ड धाराले देशमा संकट पैदा भएको आरोप पनि लगाउनुभयो ।
कम्युनिष्ट आन्दोलनको नेतृत्व युवावर्गलाई दिने लिडरको रुपमा ओली देखिएकाले उहाँलाई समर्थन गरेको मन्त्री थापाको भनाइ छ । देशलाई स्थिरतामा ल्याउन निर्वाचन नै आवश्यक भएको उहाँले बताउनभयो ।