Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ६ अर्बको कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ६ अर्बको कारोबार

  • बिहिवार, चैत्र १२ २०७७

  • 2.4K
    SHARES

  • शेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ६ अर्बको कारोबार

    काठमाडौं । साताको अन्तिम दिन आज बिहीवार नेप्से परिसूचक २ हजार ५४८ दशमलव ९६ विन्दुमा बन्द भएको छ ।
    यो दिन अघिल्लो कारोबार दिन बुधवारको तुलनामा परिसूचक शून्य दशमलव ८३ प्रतिशत अर्थात् २१ दशमलव २९ अंक तल झरेको हो । बुधवार १ दशमलव ६३ प्रतिशतले बढेर २ हजार ५७० दशमलव २५ बिन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ५८४ दशमलव ७९ विन्दुदेखि खुला भएको थियो ।

    यो दिन २ हजार ५९५ विन्दुसम्म पुगेर बजार तल झरेको हो । बिहीवार सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ६४ अंक घटेर ४५० दशमलव ३१ विन्दुमा बन्द भएको छ ।

    बिहीवार रू. ६ अर्ब ५० करोड ८ लाख ६ हजार बराबरको १ करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २०८ ओटा कम्पनीको ७४ हजार ६५८ पटकको व्यापारमा भएको हो ।

    साढे ६ अर्बको कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको भएको छ । यस बैंकको रू. ९१ करोड ८ लाख ८० हजार बराबरको १४ लाख ८८ हजार ९० कित्ता शेयर कारोबार भएको हो ।

    यो दिन कम्पनीको शेयरमूल्य पनि ४ दशमलव ६५ प्रतिशत अर्थात प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. ६०८ कायम भएको छ । यस वर्ष ८ प्रतिशत बोनस शेयरको प्रक्षेपण गरेको कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

    बिहीवार कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये व्यापारिक समूहको ३ दशमलव ९४ प्रतिशत, होटल्स एण्ड पर्यटन समूहको ४ दशमलव ४५ प्रतिशत र लगानी समूहको १ दशमलव १६ प्रतिशतले बढेको छ भने बाँकी समूहको घटेको छ ।

    यो दिन बैंकिङ समूहको १ दशमलव १ प्रतिशत, विकास बैंकको शून्य दशमलव ७७ प्रतिशत, जलविद्युतको १ दशमलव ८९ प्रतिशत, वित्तको शून्य दशमलव २५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८९ प्रतिशत, अन्यको १ दशमलव ८८ प्रतिशत, लघुवित्तको १ दशमलव शून्य २ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ७६ प्रतिशत परिसूचक घटेको हो ।

    दोहोरो अंकले घटेको बजारमा तीन ओटा कम्पनीको शेयरमूल्य भने उच्च दरमा वृद्धि भएको छ । यो दिन चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेर रू. २ हजार ७९ पुगेको छ भने सपोर्ट माइक्रोफाइनान्स र वोमी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

    बिहीवार चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. १८९, सपोर्ट माइक्रोफाइनान्सको प्रतिकित्ता रू. २०२ र वोमी लघुवित्तको प्रतिकित्ता रू. ८८ ले शेयरमूल्य बढेको हो । यस दिन ४० ओटा कम्पनीको शेयरमूल्य बढेको छ ।


    बिहिवार, चैत्र १२ २०७७०४:२८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij