Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नागरिकले अवज्ञा गरे सरकारको आदेश

नागरिकले अवज्ञा गरे सरकारको आदेश

  • आइतवार, चैत्र १५ २०७७

  • 1.1K
    SHARES

  • नागरिकले अवज्ञा गरे सरकारको आदेश

    काठमाडौँ – कोरोना संक्रमणको दोस्रो लहर सुरु हुन सक्ने चेतावनीसहित होली पर्वमा भीडभाड हुने गतिविधि नगर्न सरकारले जारी गरेको आदेशको नागरिक तहबाट अवज्ञा भएको छ ।

    आज पहाडी जिल्लामा मनाइएको होलीमा मानिसहरुको ठेलमठेल भीडभाड देखिन्थ्यो । काठमाडौँका विभिन्न स्थानमा होली मनाउन भेला भएकाहरुले भौतिक दूरी र मास्कको प्रयोग गरेका थिएनन् ।

    सरकारले होली पर्व घरमै रहेर मनाउन आदेश दिँदै अटेर गरे कैद गर्ने सम्मको चेतावनी दिएको थियो । तर काठमाडौँको बसन्तपुरमा कोरोना संक्रमणको जोखिम र सरकारी आदेशलाई बेवास्ता गरेर युवायुवतीहरुले रमाइलो गरेका छन् ।

    कतिपय ठाउँमा भने घरपरिवार र छिमेकका सदस्यहरुबी आ–आफ्नो समूहमा रहेर होली मनाइएको छ । जनस्वास्थ्य मापदण्ड पालनामा नागरिकहरुले गरिरहेको बेवास्ताले संक्रमणको दोस्रो लहर फैलिने खतरा बढ्न सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

    अहिलेको अवस्थामा लकडाउन भन्दा पनि जनस्वास्थ्य मापदण्ड पालनाको विषय महत्वपूर्ण रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो । आफू फेरि पनि लकडाउनको पक्षमा नरहेको तर उच्च स्वास्थ्य सावधानी अपनाउने कुरामा भने कसैले बेवास्ता गर्न नहुने उहाँको भनाइ छ ।

    जनस्वास्थ्यविद डा. शरद वन्तको पनि जनस्वास्थ्य मापदण्ड पालना भए लकडाउन गर्न नपर्ने धारणा छ । तर भारतबाट आउनेहरुलाई क्वारिन्टिनमा राख्ने जस्ता विषयमा वैज्ञानिक व्यवस्थापन गर्न सरकारलाई उहाँको सुझाव छ ।

    डा. पन्तले सीमामा कडाई गर्न बहानामा नागरिकहरुलाई दुःख दिने काम मात्रै गर्न नहुने बताउनुभयो । भारतबाट आउने सबै व्यक्तिहरुलाई नसकिए पनि अति प्रभावित शहरहरुबाट आउने सबैलाई क्वारिन्टिनमा राख्नुपर्ने सुझाव दिनुभएका डा. वन्तले लकडाउनलाई मात्रै समाधान नठान्न आग्रह गर्नुभयो।

    हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले नै तत्काल लकडाउन नगरिकने बताउनुभएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने परिस्थिति हेरेर लकडाउनबारे निर्णय लिन सकिने बताएको छ । लकडाउन आफूहरुको रहर नभई बाध्यात्मक निर्णय बन्न सक्ने मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताउनुभयो ।

    कोरोनाको दोस्रो लहर रोक्ने उपाय अन्तर्गत लकडाउन गर्ने कि नगर्ने भन्नेमा सरकारी अधिकारीहरुबाट बाहिर आएको फरक फरक धारणाले आम जनमानसमा अन्यौल श्रृजना गरेको छ । जनस्वास्थ्य मापदण्ड पालना नभए लकडाउन गरेर मात्रै संक्रमण नियन्त्रणमा लिन नसकिने विज्ञहरु बताइरहेका छन् ।

    तर कोरोना संक्रमण नियन्त्रणमा नआउँदै हजारौँ नागरिकहरुलाई सडकमा उतारेर जनस्वास्थ्य मापदण्डको अवज्ञा गर्न सिकाएको सरकारले भीडभाड नगर्न भन्दै दिएका पछिल्ला आदेशहरुको अवज्ञा हुन थालेपछि नयाँ समस्या पैदा भएको छ ।


    आइतवार, चैत्र १५ २०७७०७:०६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij