काठमाडौं । महोत्तरीबाट हराएका सातजना बालिका तथा किशोरी भेटिएका छन् । घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका तथा किशोरी भारतको सीतामढीमा भेटिएका हुन् ।
महोत्तरीको भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले ती बालिका तथा किशोरीहरु भारतमा भेटिएको र उनीहरुलाई नेपाल ल्याउन टोली गएको बताउनुभयो ।
भंगहाका नगरपालिका प्रमुख संजीव साहका अनुसार मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका ५ बालिका र २ किशोरी बेपत्ता भएका थिए ।
उनीहरु ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान छन् ।
बालिका तथा किशोरीहरु किन सीतामढी गए भन्नेबारे अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।