Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
ओली समूहमा उत्साह

प्रचण्डको टाउकोमा सर्वाेच्चको घन

प्रचण्डको टाउकोमा सर्वाेच्चको घन

  • बिहिवार, चैत्र १९ २०७७

  • 1.8K
    SHARES

  • प्रचण्डको टाउकोमा सर्वाेच्चको घन

    काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टाउकोमा सर्वाेच्च अदालतले फेरि एक पटक 'घन हिर्काएको' छ ।

    एमाले र माओवादी केन्द्रको एकता भंग हुने फैसला सर्वाेच्चले गरेपछि प्रचण्डले उहाँकै शब्दमा आफ्नो टाउकोमा अदालतले घन हिर्काएको महसुस भएको टिप्पणी गर्नुभएको थियो ।

    कानुन व्यवसायीसँगको लामो छलफलपछि प्रचण्डले एकता बदर हुने फैसला पुनरावलोकनका लागि पार्टीका तर्फबाट निवेदन दिनुभयो ।

    तर सर्वाेच्चले एमाले–माओवादी ब्यूँताउने फैसलामाथि गरेको पुनरावलोकन स्वीकार नगर्ने निर्णय गरेपछि प्रचण्डको टाउकोमा फेरि एक पटक घन प्रहार भएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ ।

    सर्वोच्चको फैसलाप्रति प्रतिक्रिया जनाउँदै माओवादी केन्द्रले अदालतले देशको राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएको छ ।

    अदालतको यो निर्णयप्रति आफूहरुको तीव्र असहमति रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पनि अदालतको भूमिकामाथि शंका गर्ने प्रशस्त ठाउँ भेटिएको बताउनुभयो।

    एकता बदर सम्बन्धी फैसलाको पुनरावलोकन स्वीकार नगर्ने अदालतको निर्णयले अध्यक्ष प्रचण्डसँगै माओवादी केन्द्रको राजनीतिक जीवनमै गम्भीर धक्का पु¥याएको छ ।

    नेकपा एमालेको माधव नेपाल समूहका नेताहरु पनि पुनरावलोेकन स्वीकार नगर्ने अदालतको निर्णयबाट अचम्मित देखिएका छन् ।

    नेता रघुजी पन्तले एकता बदर गर्ने फैसला र अहिले पुनरावलोकन स्वीकार नगर्ने दुवै निर्णयमा आफूहरुको असहमति रहेको बताउनुभयो ।

    यति हुँदाहुँदै पनि सर्वाेच्चको आदेश मान्दिनँ भन्न नपाउने बाध्यता आफूहरुसँग रहेको उहाँले सुनाउनुभयो । तर अदालतले दल फुटाउने र जुटाउने कार्यको जिम्मा लिनु अस्वभाविक घटना रहेको उहाँको आशय छ ।

    पुनरावलोकन स्वीकार नगर्ने अदालतको निर्णयबाट सत्तारुढ एमालेको ओली समूहमा भने उत्साह छाएको छ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत खुसियाली व्यक्त गरेका छन् ।

    ओली समूहका अरु थुप्रै नेता तथा कार्यकर्ताहरुले पनि पुनरावलोकन अस्वीकार गरिएका समाचार सामग्रीहरुलाई सामाजिक सञ्जालमा शेयर गर्दै प्रचण्डप्रति कटाक्ष गरेका छन् ।
    ओलीका प्रेस सल्लाहकार थापाले त लड्डु खाएर उल्लास मनाउने परम्परा नभए पनि पुनरावलोकनको रोइलो अब सकिएको भन्दै राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुने टिप्पणी गर्नुभएको छ ।

    थापाले सामाजिक सञ्जालमा उक्त भनाइसँगै प्रचण्डको भावविह्वल तस्बिर शेयर गर्नुभएको छ । थापाले शेयर गरेको प्रचण्डको यो भावविह्वल अवस्थाको तस्बिर २०७४ मंसिरमा निधन भएका छोरा प्रकाशलाई श्रद्धाञ्जली दिन आयोजित शोक सभा हुँदाको हो ।

     

    kkkk.PNG

    यद्यपि चर्काे आलोचनापछि थापाले प्रचण्डको यो तस्बिरसहितको ट्विट बिहीबार अवेर साँझ हटाएका छन्।


    बिहिवार, चैत्र १९ २०७७०७:३२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij