Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एनआरएन अमेरिकी निर्वाचन : यस्तो छ चुनावी गर्मागर्मी !

एनआरएन अमेरिकी निर्वाचन : यस्तो छ चुनावी गर्मागर्मी !

  • गणेश थापा
  • मंगलवार, चैत्र २४ २०७७

  • 1.4K
    SHARES

  • एनआरएन अमेरिकी निर्वाचन : यस्तो छ चुनावी गर्मागर्मी  !

    विश्वको सुपर पावर अमेरिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सधैँजसो चर्चाको केन्द्रमै रहने गर्छ । त्यसमा पनि विगत एक वर्षयता कोभिड–१९ बाट ५ लाख ६० हजारभन्दा बढी मानवीय क्षतिसँगै संसारकै सबैभन्दा धेरै आर्थिक तथा मानवीय नोक्सानी व्यहोरिरहेको देश अमेरिका दुनियाँको नजरबाट टाढा रहने कुरै भएन ।

    आप्रवासीहरूको देश भनेर चिनिने अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय भने पछिल्लो समय निकै तातिएका छन् । दिनप्रतिदिन नेपालीभाषीहरूको संख्या बढ्दै गइरहेको अमेरिकामा नेपाली समुदायमाझ यसरी गर्मागर्मी हुनुको कारण भने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी)को आसन्न निर्वाचन हो ।

    यतिवेला अमेरिकामा रहेका नेपालीहरूबीच एनआरएन अमेरिकाको दुई वर्षे कार्यकालका लागि आगामी महिना हुन गइरहेको चुनावलाई लिएर एकआपसमा प्रतिस्पर्धी वातावरणको सिर्जना भएको छ । संसारकै पुरानो प्रजातान्त्रिक तथा शक्तिशाली राष्ट्र भएकोले पनि एनआरएन अमेरिकाको चुनावलाई निकै चासोका साथ लिने गरिन्छ ।

    यसैशिलसिलामा एनआरएन अमेरिकाको आगामी निर्वाचनका लागि यहाँको नेपाली समुदायमाझ दुई चर्चित अनुहार रामबाबु लुइँटेल र विष्णु केसीले आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

    विगत झण्डै एक दशकदेखि क्यालिफोर्नियामा बस्दै आएका लुइँटेल धार्मिक एवम् सामाजिक क्षेत्रमा अत्याधिक रूपमा परिचित र सक्रिय रहदै आएका व्यक्ति मात्रै होइनन् उनी एक पूर्वप्रहरी अधिकृतसमेत हुन् ।

    168760834_246832367131015_7193138568127524162_n.jpg

    काठमाडौँको धापासीमा स्थायी बसोबास रहेका लुइँटेलले एनआरएन अमेरिकाको क्यालिफोर्निया च्याप्टरको कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

    168663196_107077621395394_37668667412848651_n.jpg

    अमेरिकाकै सबैैभन्दा धेरै जनसंख्या रहेको एवम् वृहत अर्थतन्त्र भएको क्यालिफोर्निया च्याप्टरका लागि लुइँटेलको उम्मेदवारी निकै सशक्त र प्रभावकारी हुने यहाँका जानिफकारहरू बताउछन् । ‘नेपालीका लागि नेपाली’ भन्ने नारा लिएर अघि बढेका लुइँटेल आफ्नो जित सुनिश्चित रहेको दावीसमेत गर्छन् ।

    यता अमेरिकाका नेपालीहरू बीचमा प्रशस्त मात्रामा लोकप्रियता कमाएका ओखलढुंगाका विष्णु केसीले अनआरएन अमेरिकाको क्यालिफोर्निया च्याप्टरका लागि उपाध्यक्ष पदमा आफ्नो दावेदारी पेश गरेपछि यहाँको चुनावी माहोल निकै तातेको छ ।

    167033309_1433143707021420_8345653217321527942_n.jpg

    नेपाली समुदायका लागि मरिमेट्ने केसी सामाजिक कार्यमा निकै अग्रसर रहेका व्यक्ति मात्रै होइनन् नेपाल सरकारको सेवामा रहेर लामो अनुभव हासिल गरेका एक पूर्वसरकारी अधिकारी पनि हुन् ।

    170102880_858479498072732_3020377186089291864_n.jpg

    यहाँका नेपालीहरूको पिरमर्का, समस्या र नेपाली समुदायको हकहितका लागि सधैं लागिरहने भएकाले पनि अन्य उम्मेदवारभन्दा आफू मजबुत रहेको दलिलका साथ केसीले आगामी निर्वाचनमा आफू विजय हुने ठोकुवा गरेका छन् ।

    आधिकारिक रूपमा उम्मेदवारी दर्ताका लागि अनआरएन अमेरिका निर्वाचन समितिले आगामी दुई साताको समय तोकेको छ । अनआरएन अमेरिकाको मूल नेतृत्व तथा अन्य विभिन्न राज्यका च्याप्टर पदाधिकारीहरूका लागि आ–आफ्नो तर्फबाट उम्मेदवार पेश गर्नेहरूको संख्या ठूलो छ ।

    यता, एनआरएनए (एनसिसी) अमेरिकाको आसन्न निर्वाचनका लागि मूल नेतृत्व अध्यक्ष पदमा हालका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेसहित कृष्ण लामिछाने र बुद्धिसागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

    प्राय उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्रमा नेपाली समुदायका समस्या, संघको सदस्यता प्रणालीमा नयाँ बिधि, सूचना प्रणाली, गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता, नेपालीहरुको राजनीतिक फोरम, ग्रुप इन्सुरेन्स जस्ता विषयलाई समेटेका छन् ।

    (हाल अमेरिकाको क्यालिफोर्नियामा बसोवास गर्नुहुने थापा पत्रकार तथा पूर्वसशस्त्र प्रहरी हुनुहुन्छ ।)


    मंगलवार, चैत्र २४ २०७७०३:४३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij