काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले आज अकस्मात पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको राजनीति तातेको छ भने एकपछि अर्को गर्दै छिटोछिटो राजनीतिक घटनाक्रम विकसित हुँदै गएको छ ।
पूर्वनिर्धारित समयमै आज दिउँसो १ बजेदेखि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन चल्ने कार्यतालिका पेश गर्दै बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभयो ।
राजीनामापछि प्रदेश प्रमुखबाट काम चलाउन सरकारको पत्र पाउनासाथ मन्त्रिपरिषद् बैठक राखेर पोखरेलले प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरिसक्नुभएको छ ।
राजीनामा दिएपछि पनि फेरि पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने एमाले संसदीय दलले निर्णय गरेको छ । संविधानको धारा १६८ को उपधारा १ अनुसार पोखरेलकै नेतृत्वमा बहुमत प्राप्त दलको हैसियतमा नयाँ सरकार गठन गर्ने एमालेको दाउ थियो ।
संविधानको उक्त धारामा ’प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ’ भन्ने उल्लेख छ ।
अहिले कुल ८१ सांसद रहेका प्रदेशमा सरकार बनाउन कम्तिमा ४१ सांसद आवश्यक पर्छ । आफ्नो पक्षमा बहुमत सांसद रहेको भन्दै आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने एमालेको दाबी थियो । तर, सांसद विमला खत्री माओवादीमा प्रवेश गर्नुभएको छ । खत्री माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।
दाङबाट प्रदेशसभा ३ खबाट खत्रीले नेकपाका तर्फबाट उप चुनाव जित्नुभएको थियो । माओवादी र एमाले विभाजित भएपछि सांसद खत्री कता लाग्ने टुंगो नलाग्दै एमालेले उहाँलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । तर खत्रीले माओवादी कित्तामा जाने निर्णय गरेपछि पोखरेलको बहुमत गुमेको हो ।
बहुमत गुमेसँगै अधिवेशन अन्त्य गरिएपछि अब लुम्बिनीमा नयाँ सरकार गठनमा संकट आउने देखिएको छ । प्रदेशसभाको विषेश अधिवेशन अन्त्यप्रति सभामुख पूर्णबहादुर घर्ती पनि असन्तुष्ट हुनुहुन्छ ।
यसैबीच, सांसद खत्रीको माओवादी प्रवेशलाई एमालेले भने अपहरणको भएको बताएको छ । तर, माओवादी केन्द्रले भने यसको खण्डन गर्दै सांसद खत्री स्वेच्छाले आफ्नो पार्टीमा आएको बताएको छ ।
सांसद खत्रीले आफैँले आज पत्रकार सम्मेलन गर्दै आफू स्वेच्छाले माओवादीमा गएको बताउनुभएको छ । साथै, उहाँले आजै विज्ञप्ति निकालेर यसको थप पुष्टि गर्नुभएको छ ।

को हुन् खत्री ?
दाङबाट प्रदेशसभा ३ (ख)बाट खत्रीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । एमाले र माओवादी विभाजित भएपछि उनी कता लाग्ने टुंगो लागेको थिएन । तर, एमालेले उनलाईसमेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको दाबी गरेको उनीनिकट स्रोतले जनाएको छ ।
तर, खत्रीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ । यसैबीच माओवादीले विमला खत्री ार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको छ ।
खत्री स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । सवारी दुर्घटनामा उनको निधन भएपछि भएको उपनिर्वाचनमा वली विजयी भएकी थिइन् ।
सकियो बैठक
यता, एमालेको आकस्मिक स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा कोडिभबारे छलफल भएको र यसको रोकथाम र नियन्त्रणमा लाग्न पार्टी पंक्तिलाई निर्देशन भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।
नेम्वाङले लुम्बिनी प्रदेशको पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री एमव अध्यक्ष केपी शर्मा ओलीले ‘ब्रिफिङ’ गरेको जानकारी दिनुभयोे ।
बैठक सकिनासाथ प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुभएको छ । नेम्वाङले यो सामान्य भेटघाट भएको बताउनुभयो ।
‘प्रधानमन्त्री र राष्ट्रपतिको त बेला–बेला भेटघाट भइरहन्छ,’ उहाँले भन्नुभयो, ‘यो सामान्य हो । उहाँहरूले भेट्नु भएन भने चाहिँ असामान्य भएछ भन्ने बुझ्नुपर्छ ।’
बैठकले कोभिड बिमारीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधीको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत जानकारी दिनभएको छ ।