काठमाडौँ – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दाबी नगर्ने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । तर ओली बहुमतको प्रधानमन्त्री बन्ने कि अल्पमतको तय भइसकेको छैन ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा नदिने भएपछि माओवादी केन्द्र र नेपाली कांग्रेस बहुमत नपुग्ने भन्दै नयाँ सरकार गठनको दाबी नगर्ने निष्कर्षमा पुगेका हुन् । यो सँगै ओली फेरि प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
केपी ओलीसँग साढे चार घण्टा लामो वार्तापछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सांसद पदबाट राजीनामा दिने कुरा केही दिनलाई टरेको बताउनुभयो । ओलीसँगको वार्ता सकारात्मक दिशामा अघि बढेकोले तत्काल राजीनामा दिने कुरा टरेको उहाँले बताउनुभयो ।
दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा आज दिउँसो साढे चार घण्टा छलफल भएको थियो । वार्तापछि बाहिरिने क्रममा नेता नेपालले २६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको र फागुन २८ गतेको निर्णय फिर्ता, पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको बताउनुभयो ।
बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग हाल ६१ र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् । ३२ सांसद रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद छ ।
माधव समूहका सांसदले राजीनामा दिएको भए अथवा जसपाको पूर्ण साथ पाएको भए संसदको अंकगणित वैकल्पिक सरकार गठनको पक्षमा हुन्थ्यो । तर त्यसो नभएपछि वैकल्पिक सरकार गठनको सम्भावना समाप्त भएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । परिणाम नदिने दाबी गर्नुको अर्थ नरहने उहाँले बताउनुभयो ।
कांग्रेसले केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्री नियुक्त गर्ने खतरा पैदा भएको आशंका गरेको छ ।
माधव समूहका समेत सांसद समेटेर सिंगो एमाले र जसपाको महन्थ ठाकुर पक्षको समेत समर्थन लिएर ओलीले दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रधानमन्त्री हुन सक्ने विश्लेषण गर्दै कांग्रेसले त्यसो गर्न नमिल्ने जनाएको हो ।
सिंगो जसपाको साथ ओलीलाई नरहेको कांग्रेसको तर्क छ । एक पटक विश्वाको मतमा फेल भैसकेको प्रधानमन्त्रीले फेरि बहुमतको दाबी गर्न नमिल्ने डा. महतले बताउनुभयो ।
केपी ओलीले जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने अहिलेसम्म प्रष्ट छैन ।
बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय राति ९ बजे सकिँदैछ ।