एजेन्सी - फरवार्ड करिम बेन्जेमालाई समेट्दै फ्रान्सले युरोकप खेल्ने टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पसले युइएफए युरोपियन च्याम्पियनसिप (युरोकप)का लागि २६ सदस्यीय टोली घोषणा गर्दा बेन्जेमाले पुनरागमन गरेका हुन् ।
राष्ट्रिय टिमकै साथी म्याथ्यू भाल्बुुयनालाई सेक्स टेप देखाएर ब्ल्याकमेल गरेको आरोपमा बेन्जेमालाई सन् २०१५ को नोभेम्बरमा कारवाही गरिएको थियो । सेक्स स्क्यान्डलमा फसेपछि उनलाई टिमबाट हटाइएको थियो । त्यसैको कारण बेन्जेमा सन् २०१६ मा घरेलु मैदानमा भएको युरोकपमा टिममा परेका थिएनन् । बेन्जेमाविनाको फ्रेन्च टिम फाइनलमा पोर्चुगलसँग पराजित भयो ।
त्यस्तै, २०१८ को विश्वकपमा पनि बेन्जेमालाई टिममा राखिएन । उनीविनाको फ्रेन्ज टोलीले रुसमा विश्वकपको उपाधि नै जित्यो । यसरी उनी विश्वविजेता हुनबाट बन्चित भए ।

तर युरोकप मार्फत बेन्जेमाले फ्रान्सेली टिममा पुनरागमन गरेका छन् । उनले यस सिजन स्पानिस क्लब रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बेन्जेमाले पछिल्लोपटक सन् २०१५ अक्टोबरमा फ्रान्सका लागि खेलेका थिए ।
यस सिजन उनले ला लिगामा रियलका लागि २२ गोल गरेका छन् । यस्तै फ्रान्सका लागि अहिलेसम्म ८१ खेल खेलेका उनले २७ गोल गरेका छन् ।
बेन्जामासँगै फ्रेन्च टिममा ८ फरवार्ड छन् । यस्तै ३ गोलकिपर ९ डिफेण्डर र ६ मिडफिल्डर टिममा छन् । २२ वर्षीय डिफेण्डर युल्स कोण्डे पनि टिममा परेका छन् । उनले डेब्यु गर्न बाँकी छ ।
सन् २०१८ मा विश्वकप जित्दाको १४ खेलाडी अहिले फ्रेन्च टिममा रहेका छन् ।
मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरवटौ देशमा युरोकप हुन लागेको छ ।
यस्तो छ फ्रान्सेली टिम :
गोलकिपर : ह्युगो लोरिस, स्टिभ मनडान्डा, माइक माइनान
डिफेण्डर : लुकास डिग्ने, लिओ डुबोइस, लुकास हर्नान्डेज, प्रसनेल किमपेम्बे, युल्स कोन्डे, क्लेमेन्ट लेङगलेट, बेन्जामिन पाभार्ड, राफेल भरान र कोर्ट जुमा ।
मिडफिल्डर : एन्गोलो कान्टे, थोमस लेमार, पाउल पोग्वा, एड्रिएन राबियट, माउसा सिसोको र कोरेन्टिन टोलिसो ।
फरवार्ड ; विसम विन एदिर, करिम बेन्जेमा, किंग्सले कोमन, उसमान डेम्बेले, ओलिभर जिरुड, एन्टोनी ग्रिजमन, किलियन एमबाप्पे र मार्कुस थुराम ।