Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

केपी ओलीले दिउँसै रात पार्न खोजे, उनको दाबी खारेज हुनुपर्छ

केपी ओलीले दिउँसै रात पार्न खोजे, उनको दाबी खारेज हुनुपर्छ

  • शुक्रवार, जेठ ७ २०७८

  • 1.0K
    SHARES

  • केपी ओलीले दिउँसै रात पार्न खोजे, उनको दाबी खारेज हुनुपर्छ

    काठमाडौँ – संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गरी दुई जनाले दाबी पेश गर्नुभएको छ ।

    राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दाबी पेश गर्न दिएको समयभित्र ओली र देउवाले आ–आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गर्नुभएको हो । ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गर्नुभएको छ ।

    उहाँलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका छन्।
    त्यस्तै देउवाले कांग्रेस, माओवादी, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाउनुभएको छ ।

    दुवै पक्षले बहुमत दाबी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।

    यता कानुनका जानकारहरुले भने एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा असंगत दाबी गरेको जिकिर गरेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विश्वासको मत गुमाएका प्रधानमन्त्रीले बहुमत छ भनेर दाबी गर्नु दिउँसै रात पार्ने कुरा भएको बताउनुभयो । राष्ट्रपतिले ओलीको दाबीलाई सोझै इन्कार गर्नुपर्ने उहाँको भनाई छ ।

    आजै दिउँसो बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत प्राप्त गर्ने कुनै सम्भावना नरहेकोले ७६ (५) को सरकार गठनका लागि मार्गप्रशस्त गरेको बताउनुभएको थियो ।

    फेरि संसद विघटन खोजेको आरोपको खण्डन गर्दैै उहाँले १५० सांसदले सरकार बनाउन नसक्ने अनि, १२१ सांसद भएको आफूलाई अपजस दिने भनेर प्रश्न गर्नुभएको थियो ।

    यति मात्रै होइन ओलीले एमालेकै १२१ सांसदमध्ये २७ जनाले आफूलाई मत नदिने प्रष्ट भएपछि ७६ (५) मा जानुपरेको प्रष्ट पार्नुभएको थियो ।

    यसरी आफूूसँग बहुमत नरहेको घोषणा गरेको एक घण्टा नबित्तै ओलीले राष्ट्रपति निवास पुगेर सरकार गठनका लागि बहुमतको दाबी प्रस्तुत गरेपछि कानुनका जानकारहरु आश्चर्यचकित बनेका हुन् ।

    वरिष्ठ अधिवक्ता त्रिपाठीले एक घण्टाअघिसम्म नरहेको बहुमत आफूसँग रहेको दाबी गरेर ओलीले धोकाधडी गर्न खोजेको बताउनुभयो ।

    शशरीर उपस्थित भएर शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर गरेका माधव नेपाल समूहका नेताहरुलाई पनि ओलीले आफूतिर जोडेकोले उहाँको दाबी कीर्ते रहेको कुरा नांगै आँखाबाट प्रमाणित हुने उहाँले बताउनुभयो ।

    विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी प्रस्तुत गरेको विषय पनि विवादरहित छैन । देउवाको समर्थनमा हस्ताक्षर गरेका केही सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएका छन् ।

    ओली र देउवा दुवै पक्षबाट कीर्ते काम भएको दाबी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुवैका दाबीलाई खारेज गर्न माग गर्नुभएको छ । मुकुल अब ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबी थापाको छ ।


    शुक्रवार, जेठ ७ २०७८०७:५२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij