एजेन्सी – सात वर्षपछि एथ्लेटिको म्याड्रिडले स्पेनिस ला-लिगा फुटबलको उपाधि जितेको छ । एथ्लेटिकोले सन् २०१४ पछि पहिलोपटक लिग उपाधि जितेको हो ।
लिगको अन्तिम खेलमा गएराति एथ्लेटिकोले जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । एथ्लेटिकोले उपाधि जितेसँगै स्पेनिस महारथी मानिएका दुई क्लब रियल म्याड्रिड र बार्सिलोनाको बर्चस्व तोडिएको छ ।

गएराति नै भएको अन्तिम खेलमा उपाधि होडमा रहेको रियलले जित हासिल गरे पनि एथ्लेटिकोले २ अंकको अग्रता लिँदै उपाधि पक्का गरेको हो ।
घरेलु टोली रियल भालाडोलिडमाथि २–१ को जित दर्ता गर्दै एथ्लेटिको च्याम्पियन बनेको हो । एथ्लेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १–१ गोल गरे । रियल म्याड्रिडले भने घरेलु मैदानमा भिल्लारियलविरुद्ध २–१ को जित दर्ता गर्यो ।
उपाधि जितेको एथ्लेटिकोले ३८ खेलमा ८६ अंक जोड्न सफल भएको छ । रियल भने ३८ खेलमा ८४ अंक जोड्दै उपविजेतामा सिमित रहयो । बार्सिलोनाले पनि अन्तिम खेल जित हासिल गर्दै तेस्रो स्थानमा ७९ अंक जोड्दै सिजन अन्त्य गर्यो ।

एथ्लेटिको भालाडोलिडविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको थियो । भालाडोलिडका ओस्कार प्लानोले १८ औं मिनेटमा अग्रता दिलाएका थिए । उनले काउन्टर अट्याकमा मार्कोस डे सौसाले दिएको पासलाई मैदानको मध्यभागबाट अघि बढाउँदै पेनाल्टी क्षेत्रभित्र पुर्याएर गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवातमा नै एथ्लेटिकोले बराबरी गोल फर्काउन सफल रहेको थियो । एन्जल कोर्रियाले खेलको ५७ औं मिनेटमा गोल गर्दै उपाधि होडमा एथ्लेटिकोलाई बलियो बनाएका थिए । उनले यानिक करास्कोको पासलाई पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दै गोलरक्षक जोर्डी मासिपलाई बिट गर्न सफल रहेका थिए ।

६६ औं मिनेटमा लुइस सुवारेजले गोल गर्दै खेलमा एथ्लेटिकोलाई अग्रता दिलाए । भालाडोलिडका खेलाडीले दिएको ब्याकपास नियन्त्रणबाहिर रहेपछि मैदानको मध्यभागबाट एक्लै बल अघि बढाएर सुवारेजले पेनाल्टी क्षेत्रभित्र वान भर्सेस वानको अवस्थामा गोल गरेका थिए । यस हारसँगै भालाडोलिड लिगबाट रेलिगेसनमा परेको छ ।
यता रियल म्याड्रिडले भने भिल्लारियलविरुद्ध जित निकाले पनि एथ्लेटिकोले जित निकाल्दा उपाधि जित्न सकेन । पाहुना टोलीका लागि येरेमी पिनोले २० औं मिनेटमा गोल गरेका थिए । उनले जेरार्ड मोरेनोको चिप पासलाई पेनाल्टी क्षेत्रभित्र दोस्रो प्रयासमा नियन्त्रणमा लिँदै गोलको दिशा दिएका थिए । उनको अन्तिम प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले बचाउने प्रयास गरेपनि हातमा लाग्दै पोस्टमा छिरेको थियो ।

दोस्रो हाफको सुरुवातमै करिम बेन्जेमाले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई अफसाइड दिएका थिए । क्यासेमिरोको क्रसमा बेन्जेमाले हेडरमार्फत गोल गरे पनि क्रस दिने बेलामा उनी अफसाइड रहेको भिडियोमा देखिएको थियो ।
खेलको तीन मिनेट समय बाँकी रहँदा बेन्जेमाले बराबरी गोल गरे । उनले रोड्रिगोको पासलाई सदुपयो गर्दै गोल गरेका थिए । इन्ज्युरी समयमा बेन्जेमाको क्रसमा लुका मोड्रिचले गोल गरे पनि उक्त जित उपाधिका लागि पर्याप्त रहेन ।

क्याटलान क्लब बार्सिलोनाले लिगको अन्तिम खेलमा एइबारमाथि १–० को जित दर्ता गर्यो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमनले निर्णायक गोल गरेका थिए । ८१ औं मिनेटमा उनले सानदार भलीमार्फत गोल गर्दै जित सुनिश्चित गरेका थिए । एइबार अंक तालिकाको पुछारमा रहेपछि अर्को सिजन तल्लो श्रेणीमा खेल्नेछ ।