काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीको गृहजिल्लामा नै अहिलेसम्म पनि कोरोना विषेश अस्पताल छैन भने पिसिआर मेसिन बेवारिसे अवस्थामा रहेको छ ।
कोरोना महामारी न्युनिकरणका लागि पिसिर सेवा अत्यावश्यक भएपनि स्वास्थ्यमन्त्रीकै गृह जिल्लामा अहिलेसम्म पिसिआर सेवा नहुँदा जिल्लावासी अन्य जिल्ला धाउनु पर्ने बाध्यतामा परेका छन् ।
मन्त्रीको गृहजिल्ला नवलपरासी पश्चिमको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र प्रादेशिक अस्पतालमा ल्याइएको पिसिआर मेसिन प्रयोगविहिन भएर थन्किएको छ ।
सदरमुकाममै पर्ने रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले पृथ्वीचन्द्र अस्पताललाई कोरोना विषेश अस्पताल बनाउन र पिसिआर सेवा सञ्चालनका लागि आवश्यक सवै सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
उहाँले अस्पताललाई नगरपालिकाले १० लाख रुपैया दिएपनि अहिलेसम्म अस्पताल नेतृत्वले त्यससम्वन्धी कुनै काम नगरेको आरोप लगाउनुभयो ।
अस्पतालबाट कोरोनासम्वन्धी जतिसक्दो धेरै सेवा सञ्चालनका लागि पटक पटक आग्रह गर्दा पनि अस्पताल नेतृत्वले आलटाल गरिरहेको उहाँको गुनासो छ ।
उहाँले अस्पताललाई जुनसुकै सहयोग गर्न यस क्षेत्रका ७ पालिका सवै तयार रहेको बताउदै अस्पतालको निस्कृयता र वेवास्ताका कारण दर्जनौको अनाहकमा मृत्यु भएको दावी गर्नुभयो ।
पृथ्वीचन्द्र अस्पतालको अध्यक्ष जगदिश चौधरी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले महामारीको बेलामा पनि सेवा बृद्धिका लागि पर्याप्त चासो नदेखाएको स्थानीय बासिन्दाको पनि गुनासो छ ।
स्थानीयको गुनासो र मेयरको आरोपका बारेमा बुझ्न खोज्दा निमित्ति मेसु होदाले एक पटक फोन उठाएर पनि बैठकमा छु भन्दै बोल्न चाहनु भएन भने उहाँले नै दिएको समय अनुसार ३० मिनेटपछि फोन गर्दा उठाउनु भएन ।
उहाँले स्थानीय पत्रकार संजिव कोइरालासँगको कुराकानीका क्रममा भने पिसिआर मेसिन सञ्चालन गर्ने ठाउँ नभएको र भन्ने वित्तिकै सञ्चालन गर्न नसकिने जवाफ दिनु भएको कोइरालाले बताउनुभयो ।
आफ्नो गृहजिल्लामा पिसिआर सेवा नभएको जानकारी हुँदाहुदै पनि केन्द्रीय स्वास्थ्यमन्त्री त्रिपाठीले समेत उत्तरदायित्वपूर्ण व्यवहार नगरेको जिल्लावासीको भनाई छ ।
जिल्लामा कोरोना विषेश अस्पताल र पिसिआर सेवा नभएकाले मन्त्रीका मतदाता अहिलेसम्म पनि रुपन्देहीको भैरहवालगायतका ठाउँ जाने गरेका छन् ।
टाढा जानु पर्दा उपचारमा ढिलाइ भएर कतिपयको बाटोमै मृत्यु भएको छ भने अधिकांशले रोग लुकाएर राख्दा घरमै मृत्यु हुने गरेको छ । नवलपरासी पश्चिम जिल्लामा कोरोनाका कारण अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ ।