काठमाडौं । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीको गृहजिल्ला पश्चिम नवलपरासीमा कोरोना विषेश अस्पताल र पिसिआर सेवा सञ्चालनका लागि सक्रियता बढेको छ ।
नेपाली रेडियो नेटवर्क र नेपाली नेटवर्क डटकमबाट शुक्रबार स्वास्थ्य मन्त्रीकै गृहजिल्ला अझै पनि कोरोना विषेश अस्पताल र पिसिआर सेवा विहिन भएको समाचार प्रसारण तथा प्रकाशन भएकै दिन यसका लागि सक्रियता बढाइएको हो ।
कोरोना महामारी न्युनिकरणका लागि पिसिर सेवा अत्यावश्यक भएपनि स्वास्थ्यमन्त्रीकै गृह जिल्लामा अहिलेसम्म पिसिआर सेवा र कोरोना विषेश अस्पताल नहुँदा जिल्लावासी अन्य जिल्ला धाउनु पर्ने बाध्यतामा परेका छन् ।
जिल्ला सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र प्रादेशिक अस्पतालमा ल्याइएको पिसिआर मेसिन प्रयोगविहिन भएर थन्क्याइएको र सोही अस्पताललाई कोरोना विषेश अस्पताल बनाउन अस्पताल नेतृत्वले वेवास्ता गरेको समाचार हिजो विहान प्रसारित तथा प्रकाशित भएको थियो ।
हिजो नै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले पृथ्वीचन्द्र अस्पताललाई कोरोना विषेश अस्पताल बनाउन र पिसिआर सेवा तत्काल सुरु गर्न निर्देशन दिनु भएको छ ।
अस्पतालको निरिक्षणपछि उहाँले कोभिड नियन्त्रण र निदानका लागि तीनै तहका सरकारबाट प्राप्त रकम प्रक्रियागत रुपमा छिटो खर्च गरी कार्यसम्पादन गर्न पनि निर्देशन दिनुभएको छ ।
अस्पतालको अवस्था र सेवाका बारेमा जानकारी गराउँदै अस्पतालका अध्यक्ष जगदीश चौधरी, निमित्त मेसु डा.मोहम्मद नुरुल होदाले तीनै तहबाट रकम प्राप्त भएपनि पूर्वाधार अभावले काम अघि बढाउन नसकिएको जानकारी गराउनुभएको थियो ।
सदरमुकाममै पर्ने रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले पृथ्वीचन्द्र अस्पताललाई कोरोना विषेश अस्पताल बनाउन र पिसिआर सेवा सञ्चालनका लागि आवश्यक सवै सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
उहाँले अस्पताललाई नगरपालिकाले १० लाख रुपैया दिएपनि अहिलेसम्म अस्पताल नेतृत्वले त्यससम्वन्धी कुनै काम नगरेको आरोप लगाउनुभयो । अस्पतालका अध्यक्ष चौधरी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. होदाले महामारीको बेलामा पनि सेवा बृद्धिका लागि पर्याप्त चासो नदेखाएको र अनेक बाहना गर्ने गरेको स्थानीय बासिन्दाको पनि गुनासो छ ।
टाढा जानु पर्दा उपचारमा ढिलाइ भएर कतिपयको बाटोमै मृत्यु भएको छ भने अधिकांशले रोग लुकाएर राख्दा घरमै मृत्यु हुने गरेको छ । नवलपरासी पश्चिम जिल्लामा कोरोनाका कारण अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ ।