काठमाडौँ – आन्तरिक कलह व्यवस्थापन गर्न नसकेको सत्ताधारी नेकपा एमालेका नेताहरुले आफ्नो पार्टी फुटाउन नेपाली कांग्रेसले भूमिका खेलिरहेको आरोप लगाउन थालेका छन् ।
एमाले मात्रै हैन मधेशवादी दल जनता समाजवादी पार्टीलाई पनि फुटाउन कांग्रेस सक्रिय भएर लागेको एमाले नेताहरुको दाबी छ ।
आगामी आम निर्वाचनमा आफूलाई सहज हुने गरी दुई ठूला पार्टीलाई फुटाउन कांग्रेसले भूमिका खेलिरहेको पर्यटनमन्त्री समेत रहनुभएका एमाले नेता भानुभक्त ढकालले आरोप लगाउनुभयो ।
झट्ट हेर्दा अहिले प्रधानमन्त्री बन्न अघि सरेको देखिए पनि अन्तर्य एमाले र जसपालाई फुटाएर राजनीतिक फाइदा लुट्ने दाउमा कांग्रेस रहेको उहाँको आरोप छ ।
तर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने एमाले र जसपा फुटाउन लागिपरेको आरोपको प्रतिवाद गरेको छ । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीको अहंकारका कारण नेकपा फुटेको र अर्काे पक्षलाई पेलेरै अघि बढ्ने उहाँको प्रवृत्तिका कारण एमाले पनि फुट्न थालेको बताउनुभयो ।
केपी ओलीले पहिलो पटक संसद विघटन गरेका बेला राजनीतिक फाइदाका पर्याप्त मौका पाउँदा समेत अरु पार्टीको घरझगडामा कांग्रेस प्रवेश नगरेको उहाँको दाबी छ । तर अहिले संविधान र लोकतन्त्र नै संकटमा परेको खतरा देखपछि कांग्रेस सरकार बनाउन अग्रसर बनेको रिजालले दाबी गर्नुभयो ।
एकथरी नेताहरुले एमाले फुटाउन कांग्रेस लागिपरेको आरोप लगाइरहेका बेला एमालेका युवा नेता महेश बस्नेतले भने आफूहरुले चाहे कांग्रेस र माओवादी पनि फुटाइदिन सक्न चेतावनी दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गर्नुभयो ।
माओवादी केन्द्रका पनि २५÷२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगिसकेको उहाँको दाबी छ । तर अपहरण लगायतका आरोप लाग्ने भएकाले कांग्रेस र माओवादी फुटाउने हर्कतमा आफूहरु नलाग्ने उहाँले बताउनुभयो ।
तर एमालेभित्रकै माधवकुमार नेपाल समूहले भने अरु पार्टीहरुले भन्दा पनि एमालेकै नेतृत्वका कारण संविधान खतरामा परेको बताएको छ । सत्तामा रहेको एमाले नेतृत्वकै कारणले संविधान र लोकतन्त्र खतरामा रहेको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बताउनुभयो ।
सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को ५ बमोजिम सरकार बनाउन दाबी गरेपछि एमाले नेताहरु नेपाली कांग्रेसप्रति आक्रामक बनिरहेका छन् ।
कांग्रेसले एमाले र जसपाका सांसदहरु फकाउँदै बहुमतको दाबी गर्नु बहुदलीय व्यवस्था विपरीत हुने एमाले नेताहरुको तर्क छ ।
बहुदलीय व्यवस्था विपरीतका गतिविधि गरेर लोकतन्त्र समाप्त पार्ने खेलमा नलाग्न कांग्रेसलाई उनीहरुले चेतावनी समेत दिन थालेका छन् ।
तर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा दल फुटाउन सहज हुने अध्यादेश ल्याउन खोजेको र अहिले जसपा विभाजनका लागि पनि सक्दो कसरत गरिरहेको कुरा एमालेजनलाई कसले सम्झाउने?