एजेन्सी – ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले चिलीसँग १–१ को बराबरी खेलेको छ ।
आज बिहान ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा कप्तान लियोनल मेसीको उत्कृष्ट गोलको मद्दतमा अर्जेन्टिनाले पहिले अग्रता लिएको थियो ।
खेलको ३३औं मिनेटमा कप्तान मेसीले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

तर, अर्जेन्टिनाले सो अग्रता कायम राख्न सकेन । ५८ औँ मिनेटमा चिलीका एडुवार्डो भर्गासले गोल फर्काए ।
अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि त्यसैमा आएको रिबाउन्ड बलमा भार्गासले गोल गरेका हुन् ।
बराबरीपछि समूह ए मा अर्जेन्टिना र चिलीले समान १ अंक जोडेका छन् ।
बन्यो यस्तो नयाँ रेकर्ड

अर्जेन्टिनाका लागि मेसीको यो ७३औं अन्तर्राष्ट्रिय गोल हो । आजको गोलसँगै मेसीले नयाँ रकर्ड बनाएका छन् । यससँगै उनी प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
यसअघि यो रेकर्ड ग्राबियल बाटिस्टुटाको नाममा थियो । उनले ३८ गोल गरेका छन् । आज बिहान गोल गरेसँगै मेसीको गोल संख्या भने ३९ पुगेको छ । मेसीले ३४ गोल भने मैत्रीपूर्ण खेलमा गरेका छन् ।
पाराग्वेको पुनरागमन जित

त्यस्तै, आज बिहान नै भएको खेलमा पाराग्वेले बोलिभियामाथि पूनरागमन जित दर्ता गरेको छ । एक गोलले पछि परेको अवस्थामा पाराग्वेले १० खेलाडीमा समेटिएको बोलिभियालाई ३–१ ले पराजित गरेको हो ।
पाराग्वेको जितमा एन्जेल रोमेरोले दुई तथा एलेसान्द्रो रोमेरोले एक गोल गरे । बोलिभियाका इर्भिन साभेड्राको गोल सान्त्वना बन्यो । इर्भिन साभेड्राले खेलको १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । तर बोलिभियाले १० खेलाडीमा समेटिएपछि त्यो अग्रतालाई जोगाउन सकेन ।
यो जितपछि समूह ‘ए’ मा पाराग्वे ३ अंक जोडेर शीर्षस्थानमा उक्ला बोलिभिया पुछारमा रहेको छ । अर्जेन्टिना दोस्रो तथा चिली तेस्रो स्थानमा रहेको छ । उरुग्वले भने एक खेल पनि खेलेको छैन ।