Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निधिलाई नफकाउने देउवाको घोषणा, कांग्रेसमा नयाँ समीकरण जन्मिँदै

निधिलाई नफकाउने देउवाको घोषणा, कांग्रेसमा नयाँ समीकरण जन्मिँदै

  • सोमवार, आषाढ ७ २०७८

  • 2.1K
    SHARES

  • निधिलाई नफकाउने देउवाको  घोषणा, कांग्रेसमा नयाँ समीकरण जन्मिँदै

    काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा आफ्नै समूहबाट सभापतिका आकांक्षी विमलेन्द्र निधिलाई सहमतिमा ल्याउन थप प्रयत्न नगर्ने स्पष्ट पार्नुभएको छ ।

    आफू निकट केन्द्रीय सदस्यहरुसँगको छलफलमा क्रममा देउवाले सभापतिमा लड्न पाउने निधिको अधिकारलाई आफूले बञ्चित नगर्ने प्रष्ट पार्नुभएको नेताहरुले बताएका छन् ।

    निधिले पनि सभापतिमा लड्ने तयारी गरेपछि निकट नेताहरुले देउवासँग उहाँलाई सहमतिमा ल्याउन थप प्रयत्न नगरे परिणाममा असर पर्नसक्ने बताएका थिए । हिजो गण्डकी र बागमती प्रदेशका नेताहरुले निधिलाई जसरी पनि सहमतिमा ल्याउन देउवालाई सुझाव दिएका थिए ।

    देउवा निकट नेता मोहनबहादुर बस्नेतले एउटै समूहबाट दुई जना सभापतिका उम्मेदबार भए परिणाममा धक्का पुग्न सक्नेबारे आफूहरुले सुझाव दिएको जानकारी दिनुभएको थियो ।

    सभापतिमा चुनाव लड्नेबारे आज पनि देउवाले प्रदेशगत छलफल गर्नुभएको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका नेताहरुले पनि निधिलाई सहमतिमा ल्याउन देउवालाई सुझाव दिएका छन् ।

    तर सभापति देउवाले भने आफूले निधिलाई धेरैपटक सहमतिका लागि आग्रह गरिसकेकोले अब थप प्रयत्न नगर्ने बताएको छलफलमा सहभागी नेता वीरबहादुर बलायरले जानकारी दिनुभयो ।

    निधिलाई नफकाउने रणनीति लिएका देउवाले पौडेल खेमाका प्रभावशाली नेताहरुलाई आफ्नो समूहमा तानेर अघि बढ्न खोजेको देखिन्छ । नेता बलायरले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग देउवाले परामर्श अघि बढाउने जानकारी दिनुभयो ।

    देउवाले कांग्रेसलाई फेरि एक नम्बर पार्टी बनाएर मात्रै विश्राम लिने चाहना व्यक्त गरेर चुनावी तयारी गरिरहँदा कांग्रेसभित्र परम्परात समूह भत्काएर नयाँ समीकरण जन्माउने प्रयास पनि हुन थालेका छन् ।

    नेविसंघको राजनीतिदेखि नै देउवालाई साथ दिँदै आउनुभएका नेता विमलेन्द्र निधिले आज पौडेल समूहमा रहेका नेताहरु शशांक कोइराला र प्रकासमानसिंहसँग छलफल गर्नुभयो ।

    विरासतको राजनीति गर्दै आएका यी तीनैजना नेताहरुबीच भएको छलफललाई कांग्रेसभित्र नेतृत्वका लागि विकसित भइरहेको नयाँ समीकरणका रुपमा व्याख्या गर्न थालिएको हो ।

    तर निधिले भने आफूले यसपटक सभापतिको उम्मेदबारी दिने निर्णय गरिसकेको र यसबाट पछि नहट्ने दृढता सञ्चार माध्यमहरुमार्फत व्यक्त गर्नुभएको छ । देउवाले चुनाव लड्ने अधिकार छ लड्नुस भनेर आफूलाई चुनावी मैदानमा धकेलेको निधिले बताउनुभयो ।

    यता अब १४ औँ महाधिवेशनमार्फत युवा नेतृत्वलाई अवसर दिइनुपर्ने आवाज पनि कांग्रेस भित्र बुलन्द हुँदै गएको छ । कांग्रेसका युवा नेता डा. चन्द्र भण्डारीले अब देउवाको पुस्ताले विश्राम लिनुपर्ने बताउनुभयो ।

    आफूहरु पार्टी र मुलुक हाँक्न सक्षम रहेको तर उमेरका कारण अब देउवाहरुबाट प्रतिस्पर्धा गर्न सक्ने पार्टी कांग्रेस बन्न नसक्ने उहाँको जिकिर छ । नेतृत्वको पुस्तान्तरणका लागि आफूहरु परामर्शमा रहेको डा. भण्डारीले बताउनुभयो ।

    आसन्न महाधिवेसनमा संस्थापन समूहबाट सभापति देउवा र उपसभापति निधिले चुनावी अभियान थालिसके पनि संस्थापन इतर समूहमा खासै तरंग उब्जेको छैन । पौडेल समूहमा कोइराला परिवारबाटै सुजाता कोइराला, शशांक कोइराला र सेखर कोइराला गरी सभापतिका तीनजना आकांक्षी छन् ।

    यसबाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदबारी दिने तयारी गरिरहेका छन् । महामन्त्री कोइरालाले त आफूबाहेक देउवालाई हराउन सक्ने अर्काे उम्मेदबार कांग्रेसमा नरहेको बताउँदै आउनुभएको छ ।


    सोमवार, आषाढ ७ २०७८०७:३१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij