काठमाडौं – यति वेला नेपालको राजनीति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशनतर्फ केन्द्रीत हुँदै गइरहेको छ । आगामी भदौ १६ देखि १९ गतेको मिति सुनिश्चित गरेसँगै महाधिवेशनको होमवर्क पनि तीव्र बनेको छ । सभापति शेरबहादुर देउवा प्रदेश–प्रदेशका केन्द्रीय सदस्यसँग बैठक गरेर आफूलाई जित्ने आधार तयार पारिदिन आग्रह गरिरहेका छन् ।
विगतमा उनकै टिमका विमलेन्द्र निधिले आफू आफैं सभापतिको उमेद्वार हुने गृहकार्यमा लागिसकेका छन् । उनले सभापतिको दाबेदारीका लागि देउवालाई आफू अघि बढिसकेको बताइसकेका छन् । १३ औँ महाधिवेशन अघिको समझदारीअनुसार आफूले सहयोग गर्न आग्रह गरिसकेका छन् । यसलगत्तै निधिले महाधिवेशन केन्द्रित भेटघाट सुरु गरेका छन् ।
यसैबीच विमलेन्द्रले आइतबार केन्द्रीय सदस्यहरुसँग भेटघाट गरेका थिए । त्यस्तै, सोमबार महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई ‘लन्च मिटिङ’मा डाकेका थिए । उनीहरु तीनजनाबीच बानेश्वरमा लामो समय लन्च मिटिङ चलेको बताइन्छ ।
विमलेन्द्रले सभापतिका प्रत्यासीहरुबीच सहमति वा समझदारी निर्माण गर्न उनीहरुसँग छलफल थालेको बताइएको छ । उनले आफू सर्वसम्मत नेतृत्व चयन हुने अवस्थाबाहेक सभापति पदको उमेदवारीबाट पछि नहट्ने बताइसकेका छन् ।
विमलेन्द्रले बिपीपुत्र डा. शशांक र गणेशमान पुत्र प्रकाशमानलाई पहिलोपटक लन्चमा डाकेर केही नयाँ सन्देश दिने प्रयत्न गरेको उनीनिकट स्रोतले जनाएको छ ।
विमलेन्द्र कांग्रेसका पुराना नेता महेन्द्रनारायण निधिका छोरा हुन् । यता उनले बोलाएका शशांक र प्रकाशमान पनि कांग्रेसका संस्थापक नेताहरु बिपी र गणेशमानका छोरा हुन् । त्यसैले, सोमबारको लन्च मिटिङलाई पारिवारिक विरासत जोगाउने प्रयासको रुपमासमेत विश्लेषण गरिएको छ ।
यता, कांग्रेस महामन्त्री शशांकले पनि एउटा टेलिभिजन कार्यक्रममार्फत विमलेन्द्रको प्रस्तावबारे यसअघि नै खुलासा गरेका थिए । आफूलाई विमलेन्द्रले बुवाहरुले जस्तै हामीले पनि मिलेर अघिबढ्नुपर्ने प्रस्ताव गरेको जनाएका थिए ।
आफू पनि सभापतिको प्रत्यासी रहेको बताउँदै उनले विमलेन्द्रको प्रस्तावलाई गम्भीर रुपमा लिएको बताएका थिए ।
यद्यपि, उनले आफू पनि सभापतिको दाबेदार रहेको दाबी छोडेनन् । उनले आफूबाहेक देउवालाई हराउन सक्ने अर्काे उम्मेद्वार कांग्रेसमा नरहेको बताउँदै आएका छन् ।
प्रकाशमान भने विगतमा देउवा क्याम्प छोडेर रामचन्द्र पौडेल क्याम्पमा आएका थिए । वरिष्ठ नेता पौडेलले त सभापतिको दाबेदारी पेश गर्ने भइहाले । यता, गत महाधिवेशनमा पौडेललाई साथ दिएका प्रकाशमानले पनि सभापतिमा उम्मेदबारी दिने तयारी गरिरहेको बताइएको छ ।
सभापति देउवाले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा आफ्नै समूहबाट सभापतिका आकांक्षी विमलेन्द्रलाई सहमतिमा ल्याउन थप प्रयत्न नगर्ने स्पष्ट पारिसकेका छन् ।
यसर्थ, बिपी, गणेशमान र महेन्द्रनारायणका छोराहरुबीच तालमेल हुनसक्ने विश्लेषण पनि कतिपयले गरिहेका छन् ।
कतिपयले भने सभापति देउवा र महामन्त्री शशांकबीच बाहिर जे भए पनि भित्री सम्बन्ध राम्रो भएकाले उनहिरुबीच नै चुनावी तालमेल हुनसक्ने समेत अड्कलबाजी गरिहेका छन् ।
पूर्वमहामन्त्री विमलेन्द्रलाई सभापति बन्न नदिन शक्तिकेन्द्रहरु लागिपरेको नाम उल्लेख नगर्ने शर्तमा एक कांग्रेसका एक युवा नेताले बताए । विमलेन्द्र मधेसी सममूदायका भएकाले उनलाई विदेशीले नै नेतृत्वमा पुर्याउन नचाहेको उनको भनाइ छ ।
‘कांग्रेसका नेतृत्वमा मधेसी, जनजाति र दलित समूदायलाई पुग्न नदिन बढी विदेशी चलखेल हुने गर्छ’, उनले भने, ‘सीमान्तकृत जाति र वर्ग नेतृत्वमा पुगेमा नेपालको राष्ट्रिय एकता मजबुत हुन्छ र हामीले हस्तक्षेप गर्न पाइँदैन भन्ने उनीहरुले राम्ररी बुझाका छन् । त्यसैले, योपटक पनि उनीहरुले नै मधेसी समूदायका निधिलाई सभापति बन्न दिँदैनन् ।’