काठमाडौँँ । उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।
यस जितसँगै समूह ए मा रहेको उरुग्वेले अहिलेसम्म ३ खेल खेलेकोमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ । जितपछि उरुग्वे ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया पुछारमा छ । बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिएको छ ।