काठमाडौं – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गएराति हत्या गरिएको छ । जेसिबीले ठक्कर दिएर वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोषसिंह राठौरले जानकारी दिनुभएको छ ।
‘विवाद हुँदा रिसको झोकमा जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले जेसिबीको बकेटले हिर्काएर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ’, उहाँले भन्नुभयो ।
प्रहरी उपरीक्षक (एसपी) राठौरका अनुसार वडाध्यक्ष श्रेष्ठको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा ठेकेदार इन्धन साहनी र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।
उक्त पोखरी निर्माणको ठेक्का इल्धन सहनीले लिएका थिए । इल्धनले पोखरी खन्नका लागि प्रेमराज दाहाललाई ठेक्का दिएका थिए
उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी राठौरले जानकारी दिनुभएको छ ।
यस्तो थियो घटना :
भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । शुक्रबार साँझ पोखरी खन्न बन्द गरेर वडाध्यक्ष श्रेष्ठ, ठेकेदार साहनी र जेसिबी चालक तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए । उनीहरुले मादक पदार्थ पनि सेवन गरेका थिए । राति १०–११ बजेतिर घर फर्कने क्रममा उनीहरुबीच विवाद भयो ।
पानी परेकाले बाटो चिप्लो भएपछि चालक तामाङले आफ्नो चप्पल वडाध्यक्ष श्रेष्ठलाई बोक्न लगाएका थिए । चप्पल बोक्न लगाएपछि आफूलाई हेपेको महसुस गरेका वडाध्यक्ष र चालकबीच विवाद सुरु भएको थियो । विवाद र गालीगलौज बढ्दै गएपछि पोखरी खनेको स्थानमा पुगेपछि आवेशमा आएर चालक तामाङले वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले हानेर लडाएका थिए । त्यसपछि माटोले पुरेका थिए ।
बकेटले हानेर वडाध्यक्षको हत्या गरेको भन्ने खबर आएपछि एसपीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते वडाध्यक्ष श्रेष्ठलाई तत्काल जिल्ला अस्पताल मलंगवा पठाइएको भए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।