Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओली समूहको स्थायी कमिटि बैठकमा माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव

ओली समूहको स्थायी कमिटि बैठकमा माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव

  • आइतवार, आषाढ १३ २०७८

  • 1.2K
    SHARES

  • ओली समूहको स्थायी कमिटि बैठकमा माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव

    काठमाडौँ – माधवकुमार नेपाल खेमासँगको एकतालाई लिएर नेकपा एमालेको संस्थापन समूहमा मतभेद देखिएको छ ।

    असन्तुष्ट समूहसँग कठोर भएर अघि बढ्ने कि हदैसम्मको लचकता अपनाएर एकतावद्ध हुने भन्नेमा ओली समूहभित्र मतभेद देखिएको हो ।

    आज बसेको एमाले स्थायी कमिटि बैठकमा पनि माधव समूहसँगको एकताका लागि अपनाउन सकिने उपायहरुबारे छलफल चलेको थियो ।

    छलफलमा केही नेताहरुले माधव नेपाललाई प्रधानमन्त्री र एमालेको दोस्रो अध्यक्ष बनाएर एकता जोगिन्छ भने त्यहाँसम्म पुग्नुपर्ने राय व्यक्त गरेका छन् भने केही नेताहरुले यी दुवै प्रस्ताव गर्दा पनि नेता नेपाल एमालेमा नफर्कने जिकिर गरेका छन् ।

    स्थायी कमिटि सदस्य पृथ्वीसुब्बा गुरुङले एमाले एकता हुन्छ भने माधव नेपाललाई प्रधानमन्त्री र पार्टीको दोस्रो अध्यक्ष बनाउने स्थितिसम्म पनि पुग्नुपर्ने धारणा राख्नुभयो ।

    तर उहाँको यो प्रस्तावमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित निकट अन्य नेताहरुले कुनै प्रतिक्रिया नजनाएको श्रोतले बताएको छ ।

    गुरुङले यसअघि पनि विभिन्न अन्तर्वार्ताहरुमा एमाले एकता जोगिने भए माधव नेपाललाई प्रधानमन्त्री र पार्टीको अर्काे अध्यक्ष बनाउँदैमा केही नबिग्रिने बताउँदै आउनुभएको थियो ।

    पार्टी अहिले दुर्घटनामा परेको गाडी जस्तै भएकाले सडकमा निस्केर दगुर्नका लागि आवश्यक सबै उपायहरु अबलम्न गरिनुपर्ने नेता गुरुङको तर्क छ ।

    एमाले फुटेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु भन्दा एकताका लागि माधव नेपाललाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्ने गुरुङको धारणा छ ।

    हिजो केपी ओलीले जेठ २ मा फर्कनै नमिल्ने अडान लिए पनि एकताका लागि त्यसमा फर्कन सहमत भएसँगै माधव नेपालले पनि लचकता अपनाउनुपर्न उहाँले बताउनुभयो ।

    दुवै समूहको जित–जितको अवस्था नखोजिए पार्टी एकता नहुने उहाँले बताउनुभयो ।

    गुरुङले माधव नेपाललाई अर्को अध्यक्ष र प्रधानमन्त्री बनाउँदा एकता जोगिन्छ भने त्यहाँसम्म पुग्नुपर्ने सुझाव दिए पनि ओली समूहका अरु नेताहरु यो प्रस्ताव मान्न तयार छैनन् ।

    एमाले प्रवक्ता प्रदीप ज्ञवालीले माधव समूहका केही नेताहरुको क्रियाकलाप एकताको वातावरणसँग मेल नखाने बताउनुभयो । आफूहरु एकता हुनेमा आशावादी भए पनि केही नेताहरुको व्यवहार एकताको पक्षमा नरहेको उहाँले बताउनुभयो ।

    बढी भन्दा बढी नेताहरुलाई माधव समूहबाट खोसेर संस्थापन समूहमा भित्र्याउने रणनीति ओली समूहले लिएको देखिन्छ ।

    प्रवक्ता ज्ञवालीले अधिकांश नेता कार्यकर्ताको चाहना एकतावद्ध एमाले नै रहेको दाबी गर्दै माधव समूहका नेताहरुलाई पनि समेट्ने गरी पार्टी अघि बढ्ने आशय व्यक्त गर्नुभयो ।

    असार १६ गते बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकले एकताको पक्षमा थप निर्णय लिने उहाँले बताउनुभयो ।

    संस्थापन एमालेले एकताका लागि पहल गरिरहेको दाबी गरे पनि असन्तुष्ट समूहले भने केपी ओलीसँग सम्झौता गर्न आफूहरु तयार नरहेको यसअघि नै बताइसकेको छ ।

    हिजो पत्रकार सम्मेलन गरेर वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइसकेको खुलासा गर्दै पदको लोभमा नफस्ने बताउनुभएको थियो ।


    आइतवार, आषाढ १३ २०७८०७:५९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij