काठमाडौं –पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
बेनीघाट रोराङ–१० स्थित जवाङ खोलामा पहिरोले पाँच वटा सवारी साधन पुरिँदा अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पहिरोमा पुरिएर ना ८ ख ४५४० नम्बरको ट्रकका चितवनको राप्ती नगरपालिका– ६ का १८ वर्षीय दोर्जे भन्ने वीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ४३ वर्षीया भारतीय महिला सोनी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
घाइते हुनेमा ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ५५ वर्षका राजेश कुमार, ६ वर्षका सुगम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षका राजा कुमार छन् । उनीहरु सबै भारतीय हुन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।
घाइते हुने अरू दुईजना ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार छन् । उनीहरु राप्ती नगरपालिका ६ बस्ने वर्ष ४० को हरिबहादुर प्रजा र चितवन भण्डारा बस्ने वर्ष २६ को सुदीप प्रजा छन् । उनीहरुको चितवनस्थित फित्लिङ बिहानी मेडिकलमा उपचार भइरहेको छ ।
सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनापछि अवरुद्ध भएको सडक अहिले एकतर्फी खुलाइएको प्रहरी निरीक्षक अवाले बताउनुभयो ।
यस्तै गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज
बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिनुभयो ।
यसैगरी, काठमाडौंको मुलपानी नजिकै टिपर खस्दा दुई जनाको मृत्यु भएको छ । टिपर खस्दा टहरामा सुतिरहेका दम्पतीको मृत्यु भएको हो ।
बालुवा बोकेको बा ५ ख २५११ नम्बरको टिपर सडकबाट खसेर टहरोमा परेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा नुवाकोट घर भएका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्ती रहेको काठमाडौं परिसरका प्रहरी निरीक्षक अनिल अधिकारीले जानकारी दिनुभयो ।
टिपर चालक गोविन्द घलान पक्राउ परेका छन् ।