काठमाडौँ – नेकपा एमालेमा भैसकेको भनिएको सहमति भाँडिएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन सम्बन्धी मुद्दाको फैसलाअघि कुनै किसिमको सम्झौता हुन नसक्ने अडान लिएपछि अन्तिम टुंगोमा पुगिसकेको भनिएको सहमति भाँडिएको हो ।
एमाले विवाद समाधान कार्यदलको बैठक अहिले पनि बसिरहेको छ । बिहान ९ बजेदेखि बसिरहेको बैठकले कुनै निकास दिन सकेको छैन ।
सहमतिको मस्यौदालाई अन्तिम रुप दिएर हस्ताक्षर गर्न मात्रै बाँकी रहेको नेताहरुले बताउँदै आएका थिए ।
ओली समूहबाट कार्यदल संयोजक सुवास नेम्वाङले त आज बिहान ८ बजे नै एमाले एकताको सुखद खबर देशबासीले सुन्न पाउने दाबी गर्नुभएको थियो । तर रातिको ८ बज्दा समेत कार्यदलमा सहमति नजुटेपछि एमाले एकताका लागि भएको भनिएको सहमति भाँडिएको प्रष्ट भएको छ ।
एमाले ओली समूहका नेता तथा कार्यालय सचिव शेरबहादुर तामाङले असन्तुष्ट समूहको नेतृत्व सहमत हुन नसकेपछि सहमतिपत्रमा हस्ताक्षर हुन नसकेको बताउनुभयो ।
अल्पविरामसमेत परिवर्तन नगरी हस्ताक्षर गर्ने सहमति हिजै भैसकेको उल्लेख गर्दै उहाँले आज आएर एकाएक सहमति भाँडिएको केहीबेरअघि जानकारी दिनुभयो ।
यता माधव समूहका नेता जगन्नाथ खतिवडाले सर्वाेच्चको फैसलाअघि कुनै सम्झौता हुन नसक्ने अडानमा माधव नेपाल अहिले पनि दृढ रहेको बताउनुभयो ।
भोलि सर्वाेच्च अदालतको फैसलाले मुलुकको राजनीतिमा परिवर्तन हुने तर त्यसको अघिल्लो साँझ एमालेमा सम्झौता हुने विषय परिपक्व काम पनि नहुने उहाँले बताउनुभयो । जस्तोसुकै सहमति पनि अब अदालतको फैसलापछि मात्रै हुने उहाँले बताउनुभयो ।
एकताको वातावरणको मनोविज्ञान बनाउन मात्रै कार्यदलका नेताहरुले सहमति हुनै लागेको दाबी गरेको पनि नेता खतिवडाको जिकिर छ । उहाँले एमाले एकता हुनुपर्छ भन्ने कुरामा दुईमत नभए पनि मनोविज्ञान दिन खोजेर मात्रै नपुग्ने बताउनुभयो ।
मनोविज्ञानलाई सम्बोधन गर्न विधि र प्रक्रिया चाहिने र उक्त विधि र प्रक्रियामा सहमति नभएपछि बाह्य प्रचारले ठूलो महत्व नराख्ने उहाँले बताउनुभयो ।
बैठक चलिरहँदा सहमतिको मस्यौदा वरिष्ठ नेता नेपाललाई देखाउन कार्यदल सदस्य घनश्याम भुसाल नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो ।
तर भुसाललाई नेता नेपालले सर्वाेच्चको फैसलालाई प्रभावित गर्ने गरी कुनै सम्झौता गर्न नसकिने भनेर फिर्ता पठाएको श्रोतले बताएको छ ।
भुसाल नेपाललाई भेटेर फर्केपछि फेरि वार्तामा सहभागी हुनुभएको छ । तर अब यो वार्ताले गर्ने सहमतिले अदालतको निर्णयलाई कुनै प्रभाव नपार्ने नेता तामाङले बताउनुभयो । भोलि अदालतको फैसलापछि बस्ने बैठकले पार्टी जीवनलाई अगाडि बढाउने उहाँले बताउनुभयो ।
यता एमाले उपाध्यक्ष वामदेव गौतमले पनि अदालतको फैसलापछि मात्रै एमाले एकता हुने बताउनुभएको छ । आफूले सुरुदेखि नै अदालतको फैसलापछि मात्रै एकता हुने बताउँदै आएको तर कार्यदलले त्यसअघि नै सहमति गर्न दाबी गरेको भन्दै उहाँले असन्तुष्टि पनि पोख्नुभयो । यद्यपि आजै सहमति हुनु हुँदैन भन्ने पक्षमा भने आफू नरहेको गौतमले बताउनुभयो ।
यसैबीच नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ । एकताका लागि गठित वार्ता कार्यदलले तयार पारेको सहमतिको मस्यौयामा हस्ताक्षर हुन नसकेपछि बैठक भोलिसम्मलाई स्थगित भएको हो ।
यसअघि सम्झौतामा हस्ताक्षर भए लगत्तै माधव नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बस्ने तय भएको थियो ।
अब सर्वोच्च अदालतको फैसला लगत्तै स्थायी कमिटी बैठक बस्ने र त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने तयारी एमाले छ ।