काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटबाट आज सन्यासको घोषणा गरेका पारस खड्का नेपाली राष्ट्रिय क्रिकेट टालीका पूर्वकप्तान हुन् । उनले राष्ट्रिय टोलीका लागि अलराउण्ड प्रदर्शन गर्ने गर्थे ।
पारसले सन् २००४ मा राष्ट्रिय टिम डेब्यु गरेका थिए । त्रिवि क्रिकेट मैदानमा अप्रिल २३ का दिन आइसिसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट उनले सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता उनी टिममा महत्वपूर्ण खेलाडीको रुपमा रहँदै आएका थिए ।

विनोद दासको स्थान लिँदै पारस सन् २००९ मा राष्ट्रिय टिमको कप्तान चयन भएका थिए । उनले पारस २०१९ मा कप्तानी पद छाडेका थिए । युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी गरेका थिए ।
३३ वर्षीय पारसले नेपालका लागि १० एकदिवसीय अन्तराष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।

पारसले एकदिवसीयमा ३१५ रन बनाउँदा ९ विकेट लिएका छन् । टि–ट्वान्टीमा उनले ७ सय ९९ रन जोड्दा ८ विकेट लिएका छन् ।
पारसले २ फस्ट क्लास क्रिकेट खेल्दा ४४ लिस्ट ए खेल खेलेका छन् ।

पारस नेपाली क्रिकेटका सफल कप्तान मानिन्छन् । उनले नेपाललाई डिभिजन –५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउन सफल भएका छन् ।

पारसकै कप्तानीमा नेपालले टि–ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको टि–ट्वान्टी विश्वकपमा नेपालले प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले अफगानिस्तान र हङकङलाई जितेको थियो । दुई खेल जित्नका बाबजुद नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै प्रतियोगितामा पहिलो चरणबाटै बाहिरिएको थियो ।

साथै, पारसले यु–१५, यु–१७ र यु–१९ लगायत उमेर समूहको राष्ट्रिय टिमका प्रायः सबै प्रतियोगिता खेलेका थिए । उनी सम्मिलित यु–१६ टिम सन् २००६ मा श्रीलंकामा भएको यु–१९ विश्वकपमा प्लेट च्याम्पियन भएको थियो ।

पारसले नेपाल क्रिकेट संघ (क्यान)को पदाधिकारी बन्नु आफ्नो लक्ष्य रहेको संकेत गरेका छन् । केही वर्षअघि नै उनले अध्यक्ष बनेर क्यानको नेतृत्व गर्ने आफ्नो सपना रहेको बताएका थिए ।