काठमाडौं – काठमाडौं उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ । यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको छ ।
संक्रमण बढ्दै गएकाले अबको निषेधाज्ञा अझै वैज्ञानिक बनाउनुपर्ने आवश्यक देखिएको ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।
’भीडभाडजन्य गतिविधि, तालिम तथा सभाजस्ता क्रियाकलापलाई निरूत्साहित हुने गरीको निर्णय हुन सक्छ’, उहाँले भन्नुभयो, ‘परीक्षासमेत स्थगित भइरहेका बेला अब फेरि केही क्षेत्रलाई सीमित गरेर अघि बढ्ने कि भन्नेबारे छलफल गरेर निर्क्यौलमा पुगिने छ ।’ बताउनुभयो ।
यसअघि घोषित निषेधाज्ञाको बुधबार मध्यराति सकिँदैछ । केहीदिन यता कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यकाका अस्पतालहरु संक्रमितले भरिन थालेका छन् ।
काठमाडौँ उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता केही खुकुलो बनाइएको थियो । अहिले विद्यालय, मठमन्दिर, नाइट क्लबलगायतका क्षेत्रबाहेक सबैजसो पसल, व्यवसाय खुला गरिएको छ ।
उपत्यकाबाहिरका कतिपय जिल्लामा भने निशेधाज्ञा कडा गरिएको छ ।