काठमाडौँ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ । कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सह–उपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंह र सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनी रहेका छन् ।
उच्चस्तरीय समितिले रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित अन्तर्राष्ट्रिय सीमा नाकामा हेल्थ डेस्क सञ्चालन, ट्रेसिङ, क्वारेन्टिन, टेस्टिङ, आइसोलेसन, उपचार व्यवस्थापन, खोप आूर्ति तथा अभियान सञ्चालन, औषधि, औजार÷उपकरण खरिद तथा आपूर्ति व्यवास्थपन लगायतका विषयमा नीतिगत निर्णय गर्नेछ ।
यस्तै, कोभिड बाहेकका नियमित तथा अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहलाई सुचारु गर्न आवश्यक नीतिगत निर्णय गर्ने तथा सबै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहसँग समन्वय र सहजीकरण गर्नेछ ।
यसैगरी, आर्थिक तथा मानव स्रोत परिचालन गर्न आवश्यक निर्णयहरु गर्ने र कार्यान्वयनका लागि सहजीकरण गर्ने, दातृ निकाय, विकास साझेदार, अन्तर्राष्ट्रिय संघसंस्था, गैरसरकारी निकाय, निजी संघसंस्थासँग समन्वय गरी प्राविधिक तथा आर्थिक सहयोगलाई उपलब्धिमूलक ढंगले परिचालन गर्ने कार्य समितिले गर्ने छ ।