काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम नेकपा एमाले समाजवादीको बैठकमा जाने भएका छन् । त्यहाँ गएर एकताको जिम्मेवारी आफूलाई दिन प्रस्ताव राख्ने र डेढ वर्षभित्रै पार्टी एकता गर्ने उहाँको दाबी छ ।
आफू नेतृत्वको राष्ट्रिय एकता अभियानको भर्चुअल बैठकमा माधव नेपाल नेतृत्वको एमाले समाजवादीको बैठकमा सहभागी हुने उहाँले बताउनुभयो।
‘माधव नेपाल नेतृत्वको बैठकमा म सबभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’, गौतमले भन्नुभयो।
एमाले अध्यक्ष केपी ओलीले भने एकताको जिम्मेवारी नदिएको उहाँको गुनासो छ।
‘केपी ओलीतिर गएँ नि, केपी ओलीले त जिम्मै दिएनन् । मैले जिम्मेवारी मागेका थिएँ’ उहाँले भन्नुभयो, ‘तर माधव नेपालतिर गएपछि मलाई दिनुहुन्छ।’
माधव नेपालले वार्ताको जिम्मेवारी दिए डेढ वर्षभित्रै एकता गर्ने उहाँको दाबी छ । भर्चुअल बैठकमा सहभागीहरूमध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए ।