काठमाडौँ – नेकपा माओवादी केन्द्रसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)भित्र अन्तरविरोध चर्केको छ ।
हालै एमालेबाट विद्रोह गरी निर्माण भएको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताका विषयमा पार्टी नेतृत्व र दोस्रो पुस्ताका नेताहरुबीच मतभेद चुलिएको हो ।
खासगरी दोस्रो पुस्ताका नेताहरु माओवादी केन्द्रसहित एमालेबाहेकका सबै कम्युनिष्ट घटकसँग एकता गरेर अघि बढ्ने प्रस्ताव गरिरहेका छन् भने अध्यक्ष माधवकुमार नेपाल त्यसमा सहमत देखिनुभएको छैन ।
हालै एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले चार महिनाभित्र माओवादी केन्द्रसँग एकता हुने गरी छलफल चलिरहेको र उक्त छलफल अन्तिम टुंगोतर्फ अघि बढिरहेको बताउनुभएको थियो ।
तर अध्यक्ष माधवकुमार नेपाल भने तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा देखिनुभएको छैन । बरु ओली सच्चिए जुनसुकै बेला एमालेसँग एकता गर्न सकिने अभिव्यक्ति उहाँले दिँदै आउनुभएको छ ।
तर अहिले हल्ला फिजाइए जसरी तत्कालै कुनै पनि पार्टीसँग एकता नगर्ने उहाँले प्रष्ट पार्नुभयो । एमाले नेताहरुले प्रचण्डको कार्यकर्ता बन्नु माधव नेपालको अन्तिम गन्तव्य रहेको आरोप लगाउँदै आएका छन् । एमाले अध्यक्ष ओलीले त अध्यक्ष नेपाल प्रचण्डको मामुली कार्यकर्ता रहेको भनि दिएको अभिव्यक्ति चर्चित छ ।
तर नवगठित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने कुनै पनि पार्टीसँग एकता गर्ने योजना नरहेको विषयमा स्पष्ट हुन आग्रह गर्नुभयो ।
आफ्नो पार्टीको गाउँ गाउँमा संगठन यथावत रहेको दाबी गर्दै उहाँले कसैको टाङमुनि पस्न गयो भनेर फिजाइएका हल्लाहरु निराधार रहेको दाबी गर्नुभयो ।
एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्नुअघिल्लो दिन पनि नेता नेपालले ओली सच्चिए नयाँ पार्टी गठनगरेलगत्तै पनि पार्टी एकता हुने बताउनुभएको थियो ।
तर एमालेमा ओलीपछिका नेताहरुले समेत अब माधव नेपालसँग सहकार्य गर्न नसकिने घोषणा गरेका छन् ।
एमाले महासचिव ईश्वर पोखरेलले माधव नेपाल र माओवादी केन्द्रसँग एकता र सहकार्य हुन नसक्ने आज आजोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।