काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज (आइतबार) बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ ।
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो । नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।
एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ।
नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल सेप्टेम्बर २१ मा हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।