काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दल विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको आरोप लगाउँदै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्षसँग समय लिएर एमाले सांसद भैरवसुन्दर श्रेष्ठले एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेकोले विरोध गर्नुपरेको बताउनुभयो।
उहाँले विगतमा परम्पराविपरीत पार्टीले गरेको कारवाही अनुमोदन नगरेका कारण एमालेलाई फुटाउन सभामुखको भूमिका रहेको उहाँले दाबी गर्नुभयो। एमाले सांसदले उठेर विरोध जनाए पनि राष्ट्रिय सभामा विधायक व्यवस्थापन समितिको प्रतिवेदन पेश गरिएको छ ।
एमाले सांसदको विरोधप्रति लक्षित गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले प्रतिनिधि सभाको विषयलाई लिएर राष्ट्रिय सभा अवरुद्ध नगर्न आग्रह गर्नुभयो।
‘तपाईंहरूले उठाउनु भएको विषयमा सिंगो राष्ट्रको ध्यान गएको छ । त्यो विषय प्रतिनिधि सभाको विषय भएको हुनाले त्यहीबाट हल हुने भएकोले राष्ट्रिय सभा सञ्चालनका लागि आग्रह गर्दछु,’ तिमल्सिनाले भन्न्ुभयो।
लोक सेवा आयोगसम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गरेर बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।