काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत काठमाडौं किङ्स–११ र पोखरा राइनोजबीचको खेल स्थगित भएको छ ।
टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौं र पोखराबीचको खेल स्थगित गरिएको हो ।
यसअघि, सोमबार पनि ईपीएलका दुई खेलहरु स्थगित भएका थिए । पहिलो खेलमा काठमाडौं र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्ने तालिका थियो । त्यस्तै, दोस्रो खेल चितवन राइनोज र भैरहवा ग्लाडियटर्सबीच हुने तालिका थियो ।
आयोजकले रोकिएका खेलहरूका लागि नयाँ मिति तय गर्ने जनाएको छ । अफिसियलबीचको मिटिङपछि खेल कहिले हुने भन्ने निर्णय गर्ने आयोजकले जनाएको छ ।
काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित भएको हो । काठमाडौं र पोखराबीचको खेल मध्यान्न सवा १२ बजे सुरु हुने तालिका थियो ।
प्रतियोगितामा एक खेल खेलेको काठमाडौं २ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । १ अंक जोडेको पोखरा चौथो स्थानमा छ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।