काठमाडौँ । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।
नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् । तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन ।
श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुने तर श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको भनाइ छ । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।