काठमाडौँ । काठमाडौं किङ्स–११ चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज भैरहवा ग्लाडीयटर्सविरुद्धको स्थगित खेलमा एक अंक पाएपछि काठमाडौं प्ले अफमा पुगेको हो ।
हिजो परेको वर्षाले मैदान भिजेको कारण खेल स्थगित भएपछि काठमाडौं र भैरहवाले एक एक अंक बाडेको हो । भैरहवा र काठमाडौंबीचको खेल टस समेत नभई स्थगित भएको हो । मैदानको आउटफिल्ड खेलका लागि योग्य नहुँदा अम्पायरले खेल स्थगित गरेको हो ।
भैरहवा र काठमाडौंबीचको खेल बिहान साढे ९ बजे सुरु हुने तालिका थियो । काठमाडौं चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो । काठमाडौंले ५ खेलमा ३ अंक जोड्यो ।
ललितपुर प्याट्रीयट्ससँग समान ३ अंक जोडेपनि काठमाडौं नेट रन रेटमा अघि रहेको हो । साविक विजेता ललितपुर भने लिग चरणबाटै बाहिरिएको छ ।
भैरहवा ७ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको छ । अब चितवन टाइगर्स र भैरहवाले पहिलो क्वालिफायर खेल खेल्नेछ । काठमाडौंले पोखरा राइनोजसँग इलिमिनेटर खेल खेल्नेछ ।
पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टिमले फाइनल प्रवेशका लागि पुनः इलिमिनेटरको विजेतासँग खेल्नेछ ।
पहिलो क्वालिफायर भोली साढे ९ मा हुने छ । भोलिनै एलिमिनेटर हुनेछ । एलिमिनेटर साढे १ मा हुने छ । दोस्रो क्वालिफायर बिहीबार र फाइनल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।