काठमाडौँ । ताजिकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल बलियो टिम इरानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल व्यहोर्यो । इरानको जितमा होसेनले दुई गोल गरे । मेहदी र यासिनले एक एक गोल गरे । मेहदीले ४६ औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।
७७ औं मिनेटमा होसेनले गोल गर्दै टिमको अग्रता २–० को बनाए । खेलको ७९ औं मिनेटमा होसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इरानलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा कप्तान यासिनले गोल गर्दै इरानलाई ४–० को जित दिलाए ।
यस जितसँगै समूह ’बी’ मा रहेको इरानले ३ अंक जोडेको छ । इरान समूहको शीर्ष स्थानमा रहेको छ । नेपालले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । अब नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।