Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

१२ माथिका बालबालिकालाई भोलिदेखि कोरोनाविरुद्धको खोप दिइने

१२ माथिका बालबालिकालाई भोलिदेखि कोरोनाविरुद्धको खोप दिइने

  • शनिवार, पौष ३ २०७८

  • 758
    SHARES

  • १२ माथिका बालबालिकालाई भोलिदेखि कोरोनाविरुद्धको खोप दिइने

    काठमाडौं । सरकारले भोलि आइतबारदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने भएको छ। पहिलो चरणमा ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहकालाई मोर्डनाखोप दिन लागिएको हो। यो खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    सरकारी तथ्यांकअनुसार नेपालमा १२ देखि १७ वर्ष उमेर समूहको संख्या ३४ लाख २५ हजार ४०८ छ। पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी छ। फाइजरको अर्को डोज माघ ४ देखि १३ सम्म दिइनेछ।

    फाइजर खोप १२ वर्षमाथिको उमेर समूहमा प्रभावकारी मानिएको छ। मोडर्ना खोप प्रदेश १ काताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरका बालबालिकालाई दिइने छ।

    यस्तै‚ प्रदेश २ का सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा यो खोप लगाइने छ। बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुरमा, गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासीपूर्व, स्याङ्जा र पर्वत तथा लुम्बिनीका रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दियाका बालबालिकालाई मोर्डनाखोप लगाइने छ।

    यस्तै कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान, र सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरका बालबालिकालाई मोर्डना खोप लगाउने सरकारको तयारी छ।

    दोस्रो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोप दिइनेछ। नेपालमा हिजोसम्म अनुदान र खरिद गरी ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० डोज खोप भित्रिएको छ। आगामी मार्चसम्म थप करिब ३ करोड डोज आउनेछ। देशभर २ करोड १४ लाख ४५ हजार १४५ डोज लगाइएको छ। एक डोज मात्र लगाउने १ करोड १९ लाख १३ हजार ८ सय ८६ जना छन् भने पूर्ण खोप लिनेको संख्या ९५ लाख ३१ हजार २५९ छ।


    शनिवार, पौष ३ २०७८०९:४५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij