काठमाडौँ। भोटेकोशीवाट भदौ १० गते आएको बाढीपहिरोका कारण विस्थापित भएका नागरिकहरूलाई नेपाल महिला सङ्घले आश्रय स्थलमै पुगेर अत्यावश्यक सामग्रीहरू वितरण गरेको छ। आधारभूत आवश्यकता परिपूर्तिका लागि महिला सङ्घले नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न सेल्टरहरूमै पुगेर राहत सामग्रीहरू वितरण गर्ने अभियान सञ्चालन गरेको हो ।
प्राकृतिक विपत्तिमा परेका विशेष गरी महिला र बालबालिकाहरूको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानको संरक्षण मुख्य ध्यान दिएको महिला सङ्घकी अध्यक्ष मिना खरेलले जानकारी दिएकी छिन्। बाढीका कारण रसुवाबाट विस्थापित भएर काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा रहेका अस्थायी आश्रयस्थलमा बसेका करिब २०० जना महिला तथा बालबालिकालाई सङ्घले राहत सामग्री उपलब्ध गराएको छ।
अध्यक्ष खरेल र राहत सङ्कलन तथा वितरण संयोजक सोना परियारको नेतृत्वमा भएको कार्यक्रममा रसुवाका प्रतिनिधि सभा सदस्य मोहन आचार्य, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, कुसुम थापा, पूर्व सांसद सपना राजभण्डारी लगायतले पनि राहत सामग्री वितरण गर्नुभएको थियो।
उनीहरूलाई चिसोबाट जोगिन भित्री न्यानो कपडा, हावा छेक्ने बाहिरी पोसाक, लत्ताकपडाका साथै व्यक्तिगत स्वास्थ्य र सरसफाइका लागि महिनावारी स्वच्छता सामग्री (स्यानिटरी प्याड), मञ्जन, ब्रस र शौचालय सरसफाइका सामग्रीहरू एकमुष्ट रूपमा वितरण गरिएको छ। महिला सङ्घको केन्द्रीय टोली यसअघि बाढी र पहिरोले बढी क्षति पुर्याएका नुवाकोट र धादिङका विकट तथा प्रत्यक्ष प्रभावित बस्तीहरूमा पुगेको थियो।
अध्यक्ष मीनाकुमारी खरेलसहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आफैँ कार्यक्षेत्रमा उपस्थित भई त्यहाँका पीडित परिवारहरूलाई ती सामग्रीहरू वितरण गरिसकिएको महिला संघकी केन्द्रीय सदस्य शोभादेवी भण्डारीले जानकारी दिनुभयो । विपद्को कठिन परिस्थितिमा स्थानीय प्रशासन र अन्य संयन्त्रको पहुँच पुग्न ढिलाइ भइरहेका स्थानमा पुगेर महिला सङ्घले दिएको सहयोगले पीडित परिवारहरूलाई ठूलो राहत मिलेको पीडित महिलाहरूले बताएका छन् ।
महिला अधिकार र सशक्तीकरणसँगै मानवीय सेवाको अग्रमोर्चामा सधैँ उभिने प्रतिबद्धता व्यक्त गर्दै सङ्घले आगामी दिनमा पनि विपद्पीडित नागरिकको आँसु पुछ्ने र उनीहरूको पुनर्स्थापनामा हातेमालो गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।