काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको बताउनुभएको छ । उहाँले दलाल पुँजीवादी व्यवस्थाका कारण नेपाल नवउपनिवेशमा फस्ने क्रममा रहेको दाबी गर्नुभयो ।
पार्टीको केन्द्रीय समितिको १३ औँ बैठकका निर्णयहरू सार्वजनिक गर्दै महासचिव चन्दले राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
उहाँले राष्ट्रिय स्वाधीनताको पक्षमा देशैभरि जागरण ल्याउनुपर्ने पनि बताउनुभएको छ । स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयले पार्टीमा भएको मतभेदले पार्टी विभाजनसम्म पुगेको स्मरण गर्दै महासचिव चन्दले आफूहरूले चुनावलाई क्रान्तिको एउटा अङ्गको रुपमा उपयोग गरेको बताउनुभयो । उहाँले कम्युनिस्ट आन्दोलनमा रहेका, तर पार्टीबाट अलग भएकाहरूलाई समेत पार्टीमा एकढिक्का हुन आव्हान गर्नुभएको थियो ।
महासचिव चन्दले आगामी असोज १ गते आफ्नो पार्टीको ९ औँ महाधिवेशन गरिने र सबै भ्रमहरूलाई सफाचट पार्ने बताउनुभयो । यस्तै सच्चिएर आएमा माओवादी केन्द्रसहितका शक्तिहरूसँग समेत पार्टी एकता हुन सक्ने उहाँको भनाइ थियो । ‘प्रचण्डजीले पनि एकताको कुरा गर्नुहुन्छ । मैले त उहाँहरूलाई भनेको छु, तपाईँहरू पुरानै ठाउँमा फर्किनुस्, हामी छलफल र बहस गर्न तयार छौं । तर, तपाईँहरू सुध्रिनुहुन्न भने तपाईँहरूको अन्त्यलाई कसैले बचाउनेवाला छैन,’ उहाँले भन्नुभयो, ‘उहाँहरूको लहैलहैमा लागेका धेरै साथीहरू हुनुहुन्छ, म उहाँहरूलाई सही बाटोमा आउन आव्हान गर्दछु ।’
महासचिव चन्दले अहिलेकै अवस्थाको निरन्तरता भए कुनै पनि दिन नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुनसक्ने दाबी गर्नुभएको थियो ।