Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

क्षेत्रीय आवश्यकता पूरा गर्न बिमस्टेक राष्ट्रबीच सहकार्य जरुरी : देउवा

क्षेत्रीय आवश्यकता पूरा गर्न बिमस्टेक राष्ट्रबीच सहकार्य जरुरी : देउवा

  • सोमवार, जेठ २३ २०७९

  • 813
    SHARES

  • क्षेत्रीय आवश्यकता पूरा गर्न बिमस्टेक राष्ट्रबीच सहकार्य जरुरी : देउवा
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय समस्या समाधान र आर्थिक साझेदारी वृद्धि गर्नका लागि बिमस्टेक सदस्य राष्ट्रबीच एकता र सहकार्य जरुरी पर्ने बताउनुभएको छ । 
     
    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को २५औं वार्षिक उत्सवको अवसरमा नेपालका तर्फबाट शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विकास र समृद्धिको क्षेत्रीय महत्वाकांक्षालाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो । 
     
    देउवाले कोरोना महामारी संकटका कारण उत्पन्न गरिबी, बेरोजगारी, बढ्दो असमानता र जलवायु परिवर्तन सम्बन्धी समस्या बढेको भन्दै समाधानका लागि संयुक्त पहल गर्नुपर्ने बताएका छन् ।
     
    सङ्गठनको पाँचौँ शिखर सम्मेलनसम्म आइपुग्दा दक्षिण एसिया र दक्षिणपूर्वी एसिया क्षेत्रका मुलुकबीच पुराना संस्कृति र सभ्यतालाई एकअर्कामा परिचित गराउने तथा पुनर्जीवित गराउनमा मद्दत गरेको उहाँको भनाइ छ । बिमस्टेक राष्ट्रका नागरिक तहको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन थप पहल गर्नुपर्ने प्रधानमन्त्री देउवाले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।
     
    त्यस्तै परराष्ट्रमन्त्री नारायण खड्काले पनि छुट्टै सन्देश जारी गर्दै बिमस्टेक प्रक्रियालाई पुनर्जीवित गर्न ठोस परिणाम ल्याउने गरी क्षेत्रीय राष्ट्रहरूबीच सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।
     
    सन् १९९७ जुन ६ मा स्थापना भएको बिमस्टेकमा बङ्गलादेश, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, नेपाल र भुटान सदस्य छन् । यो क्षेत्रीय सङ्गठनले दक्षिण र पूर्वी एसियालाई जोड्ने काम गरेको छ ।
     
    गठबन्धनका रूपमा रहेको यो सङ्गठनको उद्देश्य सदस्य राष्ट्रहरूबिच साझा सरोकारका विभिन्न विषयमा आपसी सहयोगमार्फत साझा समृद्धि हासिल गर्ने रहेको छ ।
     


    सोमवार, जेठ २३ २०७९०२:१८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij