Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मल पाइने भएपछि वालिङका किसान खुसी

मल पाइने भएपछि वालिङका किसान खुसी

  • शनिवार, आषाढ ४ २०७९

  • 659
    SHARES

  • मल पाइने भएपछि वालिङका किसान खुसी

    स्याङ्जा – रासायनिक मलको अभाव खेपिरहेका यहाँका किसान सोमवारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डीएपी) वितरण हुने खबर पाएका किसान खुसी भएका हुन् ।

    लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला सोमवारदेखि मल वितरण हुने भएपछि आफूलाई खुसी लागेको वालिङ–८ की किसान रन्नता बगालेले बताउनुभयो ।

    ‘रोपाइँको बेला हुन लागेको थियो, रासायनिक मल नहुँदा चिन्ता लागेको थियो’, उहाँले भन्नुभयो, ‘सोमवारदेखि मल पाइन्छ भन्ने सुनेकी छु, अब रोपाइँ गर्ने बेला भयो ।’ 

    धान रोपाइँ गर्ने तयारीमा रहेका स्याङ्जाका किसानलाई लक्षित गरी भैरहवामा झन्डै नौ सय बोरा डीएपी आइसकेकोमा आइतवारसम्ममा ती मल वालिङ आइपुग्ने कार्यालय प्रमुख नगेन्द्र थापाले जानकारी दिनुभयो । डिपोले यहाँ आएको मल सूचीकृत भएका डिलरहरुलाई उपलब्ध गराउने छ । वालिङमा रहेको डिपोमा अहिलेसम्म पालिकाको बैठकबाट छनोट भइ आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका आठ वटा सङ्घ–संस्थालाई डिलरका रूपमा मान्यता दिइ त्यहीमार्फत किसानलाई मल उपलब्ध गराइने उहाँले बताउनुभयो ।

    किसान तथा डिलरबाट आएको मागको आधारमा र यसअघि खरिद बिक्री भएको अनुपातलगायतका आधारमा मल वितरण गरिने कार्यालयले जनाएको छ । ‘धानका लागि झन्डै–झन्डै पुग्ने गरी मल आएको छ’, उहाँले भन्नुभयो, ‘केही मात्रामा नपुगेको खण्डमा केही दिनमै युरियासहितको अन्य मल पनि आउने भएकाले आफूलाई चाहिनेभन्दा बढी भण्डारण नगर्न पनि किसानलाई आग्रह गर्दछु ।’ 

    स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो र पुतलीबजारमा रहेको कृषि सामग्री केन्द्रमार्फत डिलरलाई रासायनिक मल वितरण हुँदै आएको छ । 


    शनिवार, आषाढ ४ २०७९११:५४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij