काठमाडौं । निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । आजदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतादाता फाराम भर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गत असार २९ गतेदेखि अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको छ । चितवन, कास्की, मोरङ, काभ्रे र झापाबाट पनि यो व्यवस्था मिलाइएपछि अनलाइनबाट मतदाता फारम भर्न मिल्ने जिल्लाहरूको संख्या आठ पुगेको छ ।
अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, नागरिकता लगायतका परिचय पत्रसहित फोटो खिचाउन र औंठा छाप लगाउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरूले भने फेरि नाम लेखाउन नपर्ने निर्वाचन आयोगले जनाएको छ ।
अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएपछि सेवाग्राहीलाई लामो समयसम्म लाइनमा बस्नुपर्ने व्यवस्था नहुने निर्वाचन आयोगको विश्वास छ ।
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य गत असार १ गतेदेखि सुरु गरेको थियो । यो काम निर्वाचनको मिति घोषणा नहुन्जेलसम्म जारी रहन्छ ।
विभिन्न पेसा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरूले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने आयोगले जनाएको छ । तर मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहीँबाटै गर्नुपर्ने छ ।
आफ्नो नाम, थर, लिंग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटि भएको भए यही बेला त्यसलाई सच्याउन सकिने आयोगले जनाएको छ । साथै आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न पनि सकिने आयोगले जनाएको छ ।